काठमाण्डौं, ०७ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल फुटिसकेको बताएका छन् । शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले जसपा फुटिसके पनि बाबुराम भट्टराईको नेतृत्वमा फुटको घोषणा हुन बाँकी रहेको बताए । उनले भने, ‘जसपाभित्र जे जति भएपनि दुवै पक्षसँग निरन्तर छलफल भइरहेको छ भने दुवै पक्ष त्यति नै नजिक छौँ ।’ उनले अघि थप्दै भने, ‘दुवै पक्ष यही गठबन्धनभित्र नै रहने कुरामा सकारात्मक छौं ।’
अध्यक्ष प्रचण्डले विचार मिल्ने पार्टी र त्यसको नेतृत्वसँग समाजवादी केन्द्र निर्माण गर्ने विषयमा पनि छलफल भैरहेको बताए । उनले भने, ‘जसपा अनौपचारिक रुपमा फुटिसकेको अवस्था छ, यस अवस्थामा बाबुरामजी, माधवकुमार नेपालजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ, औपचारिक रुपमा कुनै टुंगोमा पुगिएको छैन, छिट्टै यस विषयमा निर्णय हुनेछ ।’
उनले मधेसमा वर्षौदेखि व्याप्त रहेको नागरिकता समस्या समाधान भएकोमा आफू निकै उत्साहित र खुशी भएको बताए । उनले भने, ‘जनकपुरधाम विमानस्थलमै सञ्चारकर्मीहरुसँगको कुराकानीमा मैले नागरिकता समस्या समाधान गर्ने भनेको थिए र आज तपाईहरु माझ पुनः समस्या समाधान गर्न सफल भएको समाचार भन्न पाउँदा निकै खुसी भएको छु ।’








प्रतिक्रिया