प्रदेश

बुटवलले घटायो सम्पत्ति र घरबहाल कर



 रुपन्देही, ११ साउन । पांच दलीय गठबन्धनले चुनावका बेला गरेको प्रतिवद्धता अनुसार बुटवल उपमहानगरपालिकाले करका दरमा हेरफेर गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार बैठकी कर लगायतमा दर घटाइएको छ । यी करका दर यही साउन १ गतेदेखि लागू भएका छन् । सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटेको छ । यसअघि १० हजार रुपैयाँ घरबहाल लिनेले १ हजार रुपैयाँ घरबहाल कर तिर्नुपर्नेमा अब ९ सय रुपैयाँ तिरे पुग्नेछ ।

सम्पत्ति कर सम्पत्तिको मूल्य अनुसार १ सय रुपैयाँदेखि ४९ हजार ५ सय रुपैयाँसम्म कायम गरिएको छ । ५ लाख रुपैयाँसम्म करयोग्य सम्पत्ति भएमा १ सय रुपैयाँ र ५ करोडदेखि माथि भएमा प्रतिहजारको २ रुपैयाँका दरले सम्पत्ति कर तिनुपर्ने छ । यस्तै, इरिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरणबापत् ५ सयका दरले १ हजार रुपैयाँ तिर्दै आएकोमा चालु आर्थिक वर्षमा ३ सयका दरले ६ सय रुपैयाँ बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दामोदर ज्ञवालीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको मंसिरदेखि लागू हुने गरी हाटबजार बैठकी कर १० देखि १८ प्रतिशतसम्म घटेको छ ।
यसअघि रेडिमेड कपडा पसलले हाटबजार बैठकी करबापत् १३० रुपैयाँ तिर्दै आएकोमा मंसिरदेखि १ सय १५ रुपैयाँ र १ सय रुपैयाँ तिर्ने तरकारी पसलले ९० रुपैयाँ तिरे पुग्ने उनले बताए । यस्तै, महिला, अल्पसंख्यक र अपांगता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट भएको छ ।

यस्तै, सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्ग मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने भएका छन् । ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा ७५ प्रतिशत छुट गरिने भएको छ ।

यस्तैगरी, नागरिकता, अपांगता, जेष्ठ नागरिक परिचय पत्रसहित १३ प्रकारका सिफारिश दस्तुर निशुल्क गरेको ज्ञवालीले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

उनले राजस्व परामर्श समितिको सिफारिश अनुसार चालु आर्थिक वर्षको राजस्व संकलनको प्रक्षेपण गरिएको बताए । यसअघि ७१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ५३ करोड रुपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले बताए

प्रकाशित : ११ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६