प्रदेश

समितिका सदस्यहरूबीच मत बाझियपछि निष्कर्ष लेख्न सकियनः छानबिन समिति



काठमाण्डौ, १२ साउन । बजेट निर्माण प्रकृयामा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे छानबिन गर्न गठित समितिमा सदस्यहरूबीच मत बाझिँदा समितिले निष्कर्ष लेख्न सकेको छैन । अहिलेसम्म भेटिएका तथ्य, प्रमाण समेटेर प्रतिवेदन तयार पार्ने र भोलि (शुक्रवार) प्रतिनिधि सभालाई बुझाउने तयारी भइरहेको समितिले जनाएको छ ।

संसदीय विशेष समितिको प्रतिवेदन लेखनमा सदस्यहरूबीच मत बाझिएको हो । हिजो लगातार ६ घन्टा समितिमा छलफल भए पनि प्रतिवेदनमा लेख्ने छानबिनको निष्कर्षबारे सहमति जुट्न सकेन ।

समितिमा रहेका सत्तारूढ दलका सांसदहरू अनधिकृत व्यक्तिको प्रवेशको कुनै तथ्य नभेटिएकाले त्यही निष्कर्षसहित प्रतिवेदन लेख्नुपर्ने पक्षमा छन् । तर, प्रमुख प्रतिपक्षी एमालेका सांसदहरु सम्बन्धित निकायको असहयोग र प्राविधिक अस्पष्टताका कारण छानबिन अधुरो भएकाले सफाइ दिन नहुने पक्षमा छन् । सकेसम्म सर्वसम्मत प्रतिवेदन बनाउन प्रयास भइरहेको र सर्वसम्मत नभए बहुमतीय प्रक्रियाबाट अगाडि बढ्ने समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयो ।

बजेट निर्माणको अघिल्लो दिन जेठ १४ गतेको राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेरनगरेको छानबिन गर्न प्रतिनिधि सभाले असार २२ मा विशेष समिति गठन गरेको थियो । त्यही दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको थियो । १० दिन समयसीमा तोकिएको समितिले असार २८ देखि काम थालेको थियो । समितिले तोकिएको समयमै काम नसकेपछि साउन ५ गते थप एक हप्ताको म्याद थपिएको थियो।

प्रकाशित : १२ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६