कृषि

गुल्मीमा खेती गरे बाँदरलाई नगरे जग्गा बाँझै रहने पीर



सागर भण्डारी,१७ साउन गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ६ की देउकला वि.क सबेरै ५ बजे बारीमा पुग्नुपर्छ । घरको धन्दा भन्दा पनि उनलाई बारीको मकै जोगाउने पिरलो छ । “बिहानै बारीमा निस्किन्छु देउकलाले भनिन् बेलुकी अवेरसम्म नबसे बाँदरले मकै सखाप पारिदिन्छ, के गर्ने हाम्रो त बर्षभरी खानेखेती हो ।”

सोही ठाउँकै कुमारी भर्तालले बाँदरले साह्रै सताएपछि मकै नपाक्दै स्याहार्नुपरेको गुनासो गरिन् । “अझै १र२ हप्ता बारीमा राख्न पाएको भए त मकै पाक्थ्यो होला के गर्ने बाँदरले खानुभन्दा बरु अलिअलि बाँकी रहेको मकै हरियै भएपनि काट्नुपर्यो ।”

त्यसठाउँका स्थानीयको दैनिकी अहिले बाँदर धपाउँदै बित्ने गरेको छ । स्थानीय कुलबहादुर विश्वकर्माले जग्गा बाँझै राखे के खाने भन्ने पिरलो पर्ने तर खेती गरे बाँदरले नष्ट गरेर पीडित बनाएको गुनासो गरे । उनले ५ हल मेलोमा लगाएको मकैबाली आधा त बाँदरले नै नष्ट गरेको बताए ।

पहिले पहिले भन्दा आजभोलि धेरै नै बाँदरको आतकं रहेको स्थानीय बताउँछन् । पहिले गाउँमा धेरै मान्छे बस्थे अहिले बसाईँसरेर हिँडे बाँदरको आहारा कम भएपछि घरघरमै आएर सास्ती दिने गरेको स्थानीय राजु नेपाली बताउँछन् । बाँदरले खेती नष्ट गरिदिएपछि बसाईँसराईँ समेत बढेको उनको बुझाई छ ।

मकैले घोंगा हाल्दादेखि पाक्दासम्म उनको बारीमा बाँदरको बासै हुन्छ । चुनावका बेला भोट् माग्दा बाँदरको समस्या समाधान गर्ने भनेर आश्वासन दिएपनि स्थानीय सरकारले केही नगरेको उनको गुनासो छ ।

मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारकी हुमकला सापकोटा बाँदरले गर्दा बारी नै बाँझो राख्ने सोचाईँमा छिन् । मकै रोपेपनि स्याहार्नुपर्ने हैन् बरु बाँझै राखे त खर्च बँच्छ उनले भनिन् जग्गा बाँझै राखे कारबाही गर्ने नीति ल्याउने सरकारले किसानका समस्या पनि अध्ययन गर्नुपर्ने माग राखिन् । वामी बजारक्षेत्रमै बाँदरले हैरानी दिने गरेकाले धेरैले खेतबारी बाँझो राख्न थालेको उनले बताईन् ।

मुसिकोट नगरपालिकाका ९ वटै वडाका किसान बादरको समस्याले आजित छन् । ठूलो समूहमा जङ्गलबाट आउने बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्ने गरेको छ ।

बाँदरले मानिसलाई समेत आक्रमण गर्ने गरेको स्थानीयको गुनासो छ । ’घरमा वृद्धवृद्धा र बालबालिकालाई मात्र छोड्न नहुने अवस्था आएको छ, बाटोमा हिँड्दा, घरमा बस्दा ठूलो सङ्ख्यामा आएको बाँदरले मान्छे देखेपछि एक्कासि आक्रमण गर्न थालेको छ’, स्थानीय मिठे बिकले भने ।

बाँदर नियन्त्रणको उपाय खोज्दै छौँः नगरप्रमुख खरेल

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भईरहेको बताए । नगरपालिकाका प्रायः वडाहरुमा बाँदरको समस्या रहेकोले यसको दिर्घकालिन व्यवस्थापनकालागि अन्यत्रका स्थानीय तहले गरिरहेका अभ्यास र मुसिकोटको सन्धर्भमा यहाँको आवश्यकता र क्षतिको अवस्थालाई दृष्टिगत गरी छिट्टै त्यससम्बन्धी कार्यक्रम ल्याईने बताए ।

उनले बाँदरका कारण क्षति भोगेका कृषकहरुलाई क्षतिको विवरण सकंलन गरी राहत उपलब्ध गराउने विषयमा पनि सोँच्न सकिने जानकारी दिए ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६