सन्धिखर्क १९ साउन ।लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा छोराभन्दा छोरी कम जन्मिएको तथ्यांकले देखाएको छ। नेपालको जनसंख्याअनुसार पुरुषभन्दा महिला बढी देखिए पनि पछिल्लो समयमा जिल्लामा छोरी कम जन्मिएको विज्ञहरू बताउँछन्। गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म अर्थात् आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा १ हजार ४३६ जना बालबालिका जन्मिएकोमा छोरा ७ सय ४६ र छोरी ६ सय ९० रहेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक शाखाका बसन्त पोख्रेलले बताए। उनका अनुसार अवैधानिक रूपमा लिंग पहिचान गरेर छोरा भए राख्ने र छोरी भए गर्भपतन गराउने परिपाटीले छोरीको संख्या कम भएको हो।
पछिल्लो २ वर्षको तथ्यांक हेर्दा पनि जन्मिएका छोरीको संख्या कम छ। जिल्ला स्वास्थ्य कार्यालयलगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सुविधा छ। तर, अवैधानिक रूपमा जिल्ला बाहिर गएर भ्रुण परीक्षणपछि गर्भपतन गर्नेहरू बढिरहेका छन्। जिल्लामा कतिले असुरक्षित गर्भपतन गरे भन्ने तथ्यांक नभए पनि जिल्लामा छोरी कम जन्मने तर छोरा बढी जन्मनेको प्रमुख कारण लिंग पहिचानपछिको भ्रुण हत्यालाई नै लिन सकिन्छ।
नेपालमा प्रत्येक वर्ष १ लाख ८६ हजार १ सय ४४ जनाले असुरक्षित गर्भपतन गर्ने गरेको कृपा नामक संस्थाले सन् २०१४ मा गरेको सर्वेक्षणले देखाएको छ। नेपालमा प्रतिदिन ५ सय २० र प्रतिघण्टा २१ जानले असुरक्षित गर्भपतन गर्ने गरेको आईपास नेपालका कार्यक्रम अधिकृत आदशी अधिकारीले बताए। संस्थाले सुरक्षित गर्भपतनका विषयमा जिल्लामा जनचेतनामुलक कार्यक्रमहरू गर्दै आएको छ। गत साउनदेखि फागुन मसान्तसम्म ४ सय ७७ जनाले स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन सेवा लिएका छन्।सन्धिखर्क नगरपालिकासहित जिल्लाभर छोराको तुलनामा छोरीहरू कम जन्मन थालेपछि छोरी जन्माउने परिवारमा उत्साह थप्न नगरपालिकाले नगर प्रमुख खुत्रुके बचत योजना सुरु गरेको छ। नगरपालिकाले छोरीको खातामा ३ हजार रुपैयाँ जम्मा गर्न सुरु गरेपछि स्थानीय बालिकाका अभिभावक पनि खुसी भएका छन्।
१९ श्रावण २०७९, बिहिबार








प्रतिक्रिया