हरि घिमिरे, २६ साउन ।
कृषि विकास बैंकद्धारा कपिलवस्तुको बाणगंगा नगरपालिकालाई (किओस्क) मेसिन प्रदान गरिएको छ । बाणगंगा नगरपालिकाका कृषकहरुलाई कृषि सूचना प्रविधिमा पहुँच बढाई कृषि उत्पादन र कृषकको उत्पादकत्व बढाउन, डिजिटल कृषि परामर्श तथा प्राविधिक सेवा प्रवाह गराउनका लागि (किओस्क) मेसिन हस्तान्तरण गरिएको हो ।
बाणगंगा नगरपालिका, कृषि तथा पशु सेवा शाखा सँगको समन्वय र सहकार्यमा स्थानीय कृषकहरुलाई जियोकृषि प्रविधिमा जोड्दै लैजानका लागि जियोकृषि इनिसिएटिभ, पाथवे टेक्नोलोजी एण्ड सर्भिसेज प्रा. लि. र नगरपालिका विच सम्झौंता भएको हो । सम्झौंता पत्रमा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल र जियो कृषिका प्रबन्ध निर्देशक राजनमान बज्राचार्यले हस्ताक्षर र्गनु भएको छ । बाणगंगा नगरपालिकाको आयोजनामा नगरको सभा हलमा भएको कार्यक्रममा डिजिटल कृषि प्रर्वधनको विषयमा जानकारी गाईएको थिायो ।
कार्यक्रममा यस परियोजना अन्तर्गत कृषक, खेतको प्रोफाइल र कृषकको उत्पादन योजनाको डिजिटल रेकर्ड राखी सोही अनुरूप कृषकले हरेक दिन तथा हप्तामा गर्नुपर्ने गतिबिधि तालिकाको सूचना, मलखाद क्यालकुलेटर, खर्च लगानीको रेकर्ड जस्ता अन्य थुप्रै सेवा सुविधाहरु/ जियोकृषि फार्म अर्थात कृषि ज्ञान केन्द्र मोवाईल एप प्रविधि मार्फत उपलब्ध हुने बताईएको छ । यस्तै किसानलाई कृषि, पशुपालनको ज्ञान, मौसम र बजारको सुचना तथा जानकारी, रोग किराको पहिचान र समाधान सम्बन्धी जानकारी, प्राविधिक परामर्श तथा सहयोग र आवश्यक सूचनाहरुको प्रसार जियोकृषि फार्म अर्थात कृषि ज्ञान केन्द्र मोवाईल एप प्रविधि मार्फत उपलब्ध गराउने कम्पनिले जनाएको छ ।
स्थानीय स्तरमा इन्टरनेट र स्मार्ट मोबाईलमा पहुँच नभएका कृषकहरुलाई डिजिटल कृषि तथा पशु सूचना तथा परामर्श सेवा केन्द्र (ई–चौतारी) मार्फत सेवा दिने, सेबिनारहरु संचालन गर्ने, व्यवहारिक अभ्यास र सिकाईका लागि प्रदर्शनी स्थल विकासका कार्यक्रमहरु संचालन गर्ने जियोकृषिका विनोद विकले बताए । जियोकृषि फार्म एडीबीएल अथवा कृषि ज्ञान केन्द्रको मोवाइल एप र जियोकृषि वेब इन्टरप्राइजको प्रभावकारी व्यवस्थापन र दिगो संचालन र संस्थागत गर्नका लागि पालिका, कृषि शाखा, पशु सेवा शाखा तथा स्थानीय स्तरका प्राविधिक तथा प्रतिनिधिहरुको ज्ञान, सीप, क्षमता विकास गर्ने लक्ष्य रहेको विकले बताए ।
यस्तै कार्यक्रममा पालिकाका सम्बन्धित कर्मचारी/प्राविधिकहरुलाई फिल्डमा जियोकृषि फार्म अथवा कृषि ज्ञान केन्द्र मोवाईल एप अभिमुखीकरण तालिम संचालनका लागि परिचालन गर्ने र त्यसका लागि लाग्ने आवश्यक खर्च पालिकाले नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा बाणगंगा नगरपालिका मेयर चक्रपाणि अर्यालले कृषि विकास बैंकले बाणगंगा नगरलाई छानेर मेसिन प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । त्यस्तै उहाँले मेसिन राखेर मात्र नहुने भन्दै यसको प्रवाभकारीता के कस्तो भन्ने कुराले अर्थ राख्ने बताउनु भयो । मेयर अर्यालले भन्नु भयो “मेसिनले कृषकहरुमा पारेको प्रभावका आधारमा यसको सम्झौता थप हुने वा भंङ्ग गर्ने भनेर भन्न सकिने छ ।”
यस्तै उप–प्रमुख रीता कुमारी चौधरीले कतिपय कृषकहरुले मोवाईल र यस्ता प्रविधिहरु चलाउन नसक्ने भएकाले ज्ञानको कमिहुन नदिन सबैले चासो दिनुपर्ने बताउनु भयो । उहाँले आफुले सिकेका कुरा जो जहाँ कृषक भेटिन्छन त्यहीँनै यसवारे जानकारी दिन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले आधुनिक कृषि प्रणाली तथा कृषकहरुलाई डिजिटल प्रविधिमा जोड्नका लागि यस परियोजनाले महत्वपुर्ण भुमिका खेल्ने बताउदै अधिकतम कृषकहरुले प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय रुपन्देहीका प्रमुख राजेश कुमार श्रीवास्तवले कृषि विकास बैंकले विगत देखिनै यस्ता विभिन्न कार्यक्रम गरिरहेको बताउदै कृषकहरुलाई प्रविधिमा जोड्नका लागि यो कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । उहाँले कृषकहरुलाई ऋण मात्र दिएर नहुने भन्दै उनीहरुका समस्या पहिचान गरि समाधान गर्ने, किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा ध्यान दिने, बजार मुल्यको जानकारी दिने, प्रविधिमा जोड्ने जस्ता बिषयमा ध्यान नदिएमा कृषि क्षेत्रमा गरिएको लगानी खेर जाने र कृषि क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो ।
हालको लागि जियोकृषि प्रशिक्षकका लागी प्रशिक्षण र (किओस्क) मेशिन जडान गरी सहजीकरण गरे बापत पहिलो पक्षको कृषि बिकास बैक लिमिटेड संगको पूर्व सम्झौता अनुरुप क्षेत्रीय कृषि बिकास बैंक लिमिटेड, भैरहवा रुपन्देहीले रु २ लाख ४४ हजार ६ सय ४५ रुपैया मात्र नगरपालिकालाई उपलब्ध गराउनेछ । त्यस्तै दोस्रो वर्ष देखी नविकरणको रुपमा पहिलो पक्षले दोस्रो पक्षलाई एक कृषक (सक्रिय प्रयोगकर्ता) बराबर रु. ३६५ प्रति बर्षका दरले रकम व्यवस्थापन गर्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ । कार्यक्रममा कृषि विकास शाखा प्रमुख लेष बहादुर केसि, पशु विकास शाखा प्रमुख राजकुमार तिवारी, कृषि विकास बैंक जितपुरका शाखा प्रबन्धक पुनाराम खासु, नगरपालिकाका कर्मचारी लगाएतको उपस्थीति रहेको थियो ।








प्रतिक्रिया