प्रदेश

हाजिर गरेर हिँड्ने सांसदहरूलाई जनताले हेरिरहेका छन्ः सभामुख सापकोटा




काठमाण्डौ, ३० साउन । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक सङ्ख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

आज सोमवार सङ्घीय संसद् सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्ला दिन संसदमा गणपूरक सङ्ख्या नपुगेकोप्रति असन्तोष व्यक्त गर्नुभएको हो ।

पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक सङ्ख्या पुग्न छोडेको छ । आइतवार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदहरूको गणपूरक सङ्ख्या नपुग्दा मङ्गलवारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो ।

सभामुख सापकोटाले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पास गर्न संसदलाई अप्ठेरो भइरहेको बताउनुभयो । उहाँले संसदमा विधेयक पास गर्नका लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नुपर्दैन । हामीभन्दा माथि पनि कानुन छ । हामीले संसदलाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ ? कति मेहनत र परिश्रम ग¥यौँ, त्यो मूल्याङ्कनको कुरा छ । हाम्रा सबै कुरा जनताले हेरिरहेका छन् । हामीले कति पटक घण्टी बजाउनुपरेको छ विधेयक पास गर्नका लागि, हामीले कतिन्जेल पर्खिनुपरेको छ मन्त्रीहरू बोलाउनका लागि । हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ ।’

सभामुख सापकोटाले समितिमा दोहोरपन देखिएको बताउनुभयो । उहाँले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएको हो वा होइनन् भन्ने कुरा स्वयम् समितिले आत्मालोचना गर्नुपर्ने बताउनुभयो । देशको धरातलीय यथार्थ अनुकूल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको उहाँको भनाइ छ ।

सभामुख सापकोटाले सरकार उदीयमान व्यवस्थापिकाको पक्षमा रहेको बताउनुभयो । उहाँले सङ्घीय संसद्लाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका, स्विडेन, जर्मनीका समितिहरू धेरै शक्तिशाली रहेको बताउनुभयो । त्यहाँका समितिहरू कानुन निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको उहाँले बताउनुभयो । नेपालमा खोज, अनुसन्धानमा आवश्यक ध्यान नपुगेको उहाँको भनाइ छ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६