ललितपुर ९ भदौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतका राजदूतसहित अस्ट्रेलिया, स्विट्जरल्यान्ड र युरोपेली सङ्घका निमित्त राजदूतहरूले आज एमाले पार्टी कार्यालय च्यासलमा सामूहिक भेट गरेका छन् ।
भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको सन्दर्भमा प्रमुख विपक्षीको भूमिकाका विषयमा जिज्ञासा राखेका थिए । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा अन्तर्राष्ट्रियस्तर र मान्यतामा ध्यान पु¥याउनुपर्छ भन्ने उनीहरूको चासो रहेको थियो । नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धताअनुसार पीडितको आवाज सम्बोधनको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि एमालेको प्रभावकारी र महत्त्वपूर्ण भूमिका रहोस् भन्ने राजदूतहरूको भनाइ थियो ।
भेटमा अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसद्को सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताउनुभयो । अध्यक्ष ओलीले यस्ता महत्त्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट अगाडि बढाउनु न्यायोचित नहुने स्पष्ट गर्नुभयो ।
९ भाद्र २०७९, बिहिबार








प्रतिक्रिया