तनहुँ, ०९ भाद्र । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा हिजो बेलुका तीन वर्षीय बालकलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । स्थानीय सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।
हिजै बेलुका त्यही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो ।
रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । बेलुका झन्डै ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।
बालकलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछिपछि कुद्नुभएको थियो । परियार करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल हुनुभएको स्थानीय वासु पन्थले जानकारी दिनुभयो । घाइते बालकको बन्दीपुर गाउँपालिका–४ डुम्रेमा रहेको मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।
उनको घाँटी तथा शरीरका अन्य भागमा चोट लागेको छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय बालक सुप्रिम बगालेको चितुवाको आक्रमणमा परि ज्यान गएको थियो । यस घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए । रासस








प्रतिक्रिया