प्रदेश

त्रिविमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट



काठमाण्डौं, १२ भाद्र ।
त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलन बिथोल्न खोज्दा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विश्वविद्यालय उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकारहरू सम्मेलनमार्फत उनले लामो समयदेखि तालाबन्दी भइरहेको र यसले समस्या पारेको बताएका थिए ।

भित्र उनले पत्रकार सम्मेलन आयोजना गर्दै गर्दा बाहिर भने नेविसंघले नाराबाजी गर्दै पत्रकार सम्मेलन बिथोल्ने प्रयास गरेको थियो । नाराबाजी गर्दै पत्रकार सम्मेलन बिथोल्न खोज्ने नेविसंघका नेता कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको थियो । त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्ने योगेन्द्र रावलको टोलीले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको थियो । सोही क्रममा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गरेको थियो । त्यही क्रममा दुई पक्षबीच झडप भएको हो ।

झडपको क्रममा नेविसंघ नेता भुवन जोशी, किशोर भण्डारी लगायत दर्जन बढी नेता/कार्यकर्ता घाइते भएका छन् । भने केही प्रहरी समेत घाइते भएका छन् । नेविसंघले भने प्रदर्शन गर्दै हुबहु प्रश्न पत्र निकाल्नेमाथि छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको थियो । त्यही क्रममा विवाद हुँदै झडपको अवस्था सिर्जना भएको हो ।

नेविसंघले उपकुलपति बाँस्कोटाको राजीनामा माग गरेका छन् । आफूहरूमाथि कुटपिट गर्न भाडाका गुन्डा ल्याएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । यता अनेरास्ववियू भने पत्रकार सम्मेलन बिथोल्न खोजिएको र आफूमाथि नै जाइ लागेको आरोप लगाएको छ । नेविसंघले बाँस्कोटालाई बर्खास्त नगरुन्जेल सम्म अनिश्चितकालीन विश्वविद्यालय आमहड्ताल गर्ने चेतावनी दिएको छ ।

हुबहु प्रश्न पत्र बनाउनेलाई कारबाही

त्रिविले हुबहु प्रश्न पत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको बताएको छ । उपकुलपति बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्न पत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको बताएका हुन् ।

संवेदनशील विषय भएकाले हुबहु प्रश्न सोध्नेहरूको नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए । त्रिविले गत १८ जेठमा लिएको पब्लिक इकोनोमिक्स र २३ गते लिएको इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्न पत्र पुरानै दोहोर्‍याएको थियो । त्यसपछि चौतर्फी विरोध भएपछि त्रिविले छानबिन र कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६