अर्थ-वाणिज्य

बन्यो विमानस्थल आएन जहाज



तम्घास १४ भदौ । गुल्मीको सिमीचौरमा विमानस्थल निर्माण भएको पाँच वर्षभन्दा बढी भइसकेको छ तर अहिलेसम्म विमान सेवा सञ्चालन हुनसकेको छैन ।
३३ करोड रुपियाँभन्दा बढी लगानी गरेर निर्माण सम्पन्न गरिएको यो विमानस्थलमा निर्माण भएका पूर्वाधार बिग्रिने अवस्थामा पुगेका छन् । स्थानीय बासिन्दा भने कहिले जहाज आउँछ भनेर प्रतीक्षा गरेर बसेका छन् । सम्पूर्ण पूर्वाधार तयार भएर रङरोगन गरिसकिएको यो विमानस्थल घुम्न आउने बढेका छन् ।
यो विमानस्थलको धावन मार्ग कालोपत्रे गरेर रङरोगनले चिटिक्क बनेको छ । विमानस्थल अवलोकनका लागि जिल्ला र बाहिरबाट समेत दैनिक सयौँ व्यक्ति पुग्छन् । विमानस्थलबाट गुल्मी, पाल्पा तथा अर्घाखाँचीका दृश्यावलोकन गर्न सकिने भएकाले अहिले सो विमानस्थल अवलोकन गर्न आउनेको सङ्ख्या बढेको छ ।
विमानस्थल धावन मार्गको ५२० मिटर लम्बाइ र चौडाइ २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा विमानस्थल छ । विमानस्थल निर्माणका लागि मुआब्जा दिने गरी १४ घरबस्ती विस्थापित र २८ घरपरिवारको जग्गा अधिग्रहण गरिएको छ ।
यो विमानस्थलमा २०७५ साल जेठ २५ गते तारा एयरले सफल परीक्षण उडान गरेको थियो तर अहिलेसम्म व्यावसयिक उडान हुन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले दुर्गममा उड्ने जहाजको सङ्ख्या नै कम भएका कारण नियमित उडान गर्न नसकिएको बताउनुभयो । निजी विमान सेवा कम्पनीले नाफा नभएसम्म उडान नगर्ने भएकाले समस्या भइरहेको उहाँको भनाइ छ ।
यो वर्ष रेसुङ्गा विमानस्थलमा कन्ट्रोल टावरका उपकरण जडानको काम हुने जानकारी दिँदै उहाँले निजी कम्पनीसँग नियमित उडानको विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
विमानस्थलको संरक्षण हुन नसक्दा कन्ट्रोल टावरको सिसा फुटिसकेको छ । करोडौँ खर्च गरेर निर्माण गरिएका संरचनामा क्षति हुन थालेकोे छ । विमानस्थलजस्तो संवेदनशील ठाउँमा निर्माणदेखि नै सुरक्षा हुनुपर्ने भए पनि बनेका संरचना तोडफोड हुँदासम्म राज्यको ध्यान नपुग्नु विडम्बना भएको स्थानीयवासीको गुनासो छ ।
विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि २०७६ चैत ४ गते चार करोड पाँच लाख २९ हजार रुपियाँमा ठेक्का सम्झौता भएको हो । निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले आफूहरूले सम्झौताअनुसार काम गरेर बुझाएको बताउनुभयो ।
गत असारमै विमानस्थल आयोजनाका कर्मचारी फिर्ता भइसकेका छन् । आयोजनाले विमानस्थलमा नियमित उडान नहुने बेलासम्म संरक्षणका लागि वडा कार्यालय, रेसुङ्गा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । रेसुङ्गा नगरपालिकाबाट एक नगर प्रहरी विमानस्थलमा खटाइएको १० दिनपछि आफूहरू फर्किएको आयोजनाका इन्जिनियर दिनेश परियारले बताउनुभयो । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विमानस्थलको सुरक्षा गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६