काठमाण्डौ, १८ भाद्र । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २ वर्ष भित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत् जडान भएको उल्लेख गर्दै २ वर्ष भित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताउनु भएको हो । उहाँले विद्युत् खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गर्नु भयो । देशको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पार्नु भयो ।
विद्युत् खपत बढाउन सरकारले अभियान नै सञ्चालन गरिरहेको उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र देश विद्युतमा आत्मनिर्भर हुने दाबी गर्नु भयो । उहाँले आन्तरिक खपत बढाएर पनि देशमा ५ वर्षपछि वार्षिक रुपमा २ खर्बको विद्युत् निर्यात गर्ने योजना रहेको पनि बताउनु भयो ।








प्रतिक्रिया