काठमाण्डाै, १८ भाद्र । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले बिजुली व्यापार गरिरहेको र उहाँको काम प्रशंसायोग्य रहेको बताएका छन् । शुक्रवार विद्युत् प्राधिकरणले काठमाण्डाैमा गरेकाे कार्यक्रममा आचार्यले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए ।
उनले नेकपा (माओवादी केन्द्र) ले काठमाण्डाैबाट आउँदाे मङ्सिर ४ गते हुने चुनावमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इङ्गित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु भन्दै शुभकामना व्यक्त गरे ।उनले भने, ‘कुलमान जस्तो मानिस चाहिन्छ । राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभकामना ।’
कार्यक्रममा बाेल्दै आचार्यले अब बिजुली गाडीबाहेकका गाडी आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्ने बताए । उनले बिजुली गाडीकाे भन्सार घट्यो भने कर्मचारीलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले बिजुली गाडीकाे कर बढाइरहेको दाबी गरे । उनले सरकारले बिजुली गाडीको कर बढाउँदा आफूले बिजुली गाडी चढ्न नपाएको गुनासो गरे ।
उनले भने, ‘मैले एउटा बिजुली गाडी चढ्ने सपना बनाएको थिएँ । त्यो सपनाका लागि केही रकम मैले बुझाइ पनि सकेको छु र केही रकम सहुलियत पनि दिने वाचा गर्नुभएको छ । तर बजेट भाषणले गर्दा मैले जुन बिजुलीकाे गाडी चढ्न पाउने सपना थियो त्यो गाडी अहिले आइरहेको छैन । श्रीमतीले मलाई जहिले पनि प्रश्न गर्दछिन् । हजुहरूको गाडी के भयो, नआउने भयो ? भन्छिन् ।अब बिजुलीका गाडीबाहेक अरू गाडी आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्दछ । सार्वजनिक गाडीहरू पूर्ण विद्युतीयकरण हुनुपर्दछ ।’
वरिष्ठ कलाकार आचार्यले नेपालले युवाको ऊर्जा बेचेर नभइ विद्युतीय ऊर्जा व्यापार गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरामा जोड दिनुपर्ने बताए । उनले नेपालको निर्यात र आयातको स्थिति राजमार्ग हेरेर थाहा हुने व्यङ्ग्य गर्दै देब्रेतिरको बाटो भन्दा दायाँतिरको बाटोमा खाल्डो पर्ने गरेर निर्यात गर्न जरुरी रहेको बताए । पछिल्लो समय बिजुलीकाे माध्यमबाट नेपालमा शुभ सङ्केत देखिन थालेको भन्दै बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि सुरु हुने विश्वास पलाएको उनकाे भनाइ थियाे ।








प्रतिक्रिया