अर्थ-वाणिज्य

निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्तै पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन



काठमाण्डौ, २२ भाद्र । निर्यातमा आधारित नगद प्रोत्साहन इन्सेन्टिभ तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालासँगको छलफल एवम् अन्तरक्रियामा अर्थ सचिव र राजस्व सचिवलाई उहाँले कार्यविधि सहज बनाउन निर्देशन दिनुभएको हो ।

‘मैले स्पष्टरूपमा सचिवज्यूहरूलाई भनेको छु’, उहाँले भन्नुभयो, ‘सरल र सहजरूपमा प्राप्त गर्ने ९इन्सेन्टिभ० कार्यविधि चाहियो । त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन सजिलैसित पाउने बनाउनुपर्छ । उसको पैसा आएको भोलिपल्ट पाउने खालको बनाउनुपर्छ ।’ उहाँले मूल्य अभिवृद्धिकै आधारमा इन्सेन्टिभको व्यवस्था गरिने पनि बताउनुभयो । ‘एक प्रतिशत भ्यालु एडिसनलाई पनि त्यही र अर्कोलाई पनि त्यही हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘त्यो भ्यालु एडिसनकै आधारमा गर्नुपर्छ ।’

मन्त्री शर्माले निजी क्षेत्र सरकारको एक साझेदार नै भएकाले उसका समस्याहरूको समाधान गर्ने उपायको खोजी जसरी पनि गरिने बताउनुभयो । ‘तपाईँहरूले आफ्नो समस्या बताउनुभएको छ । तिनलाई समाधान गर्ने उपाय राष्ट्र बैंक, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर निकाल्छौँ’, उहाँले भन्नुभयो, ‘हाम्रो कुरा चाहिँ निजी क्षेत्रलाई समस्या वा गाह्रो नहोस् भन्ने हो । सकेसम्म तपाईँहरूलाई सहज होस् र हामीले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा होस् ।’ अर्थ मन्त्रालय निजी क्षेत्रको अभिभावकीय मन्त्रालय भएकाले पनि उसका गुनासोहरू सुन्ने र जति सक्दो समाधान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

अन्तरक्रियामा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बजेटमा व्यवस्था गरिएको ुइन्सेन्टिभु ले उद्योगी तथा व्यवसायीलाई उत्साहित गरेको बताउनुभयो । उहाँले जुत्ता, छड तथा सिमेन्ट क्षेत्रकै निर्यात क्षमता झन्डै तीन खर्ब रुपैयाँको रहेको भन्दै त्यसको ५० प्रतिशत मात्र निर्यात गर्न सके पनि देशको व्यापार घाटा धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताउनुभयो । ‘बजेटमा उल्लेख भएको व्यवस्थामध्ये निर्यातकर्तालाई सबभन्दा बढी उत्साहित गरेको भनेको निर्यातमा नगद अनुदानले नै हो’, उहाँले भन्नुभयो, ‘यी तीन वटामात्र क्षेत्रको निर्यात सम्भावना तीन सय अर्बको देखिन्छ । यसको ५० प्रतिशतमात्र निर्यात गर्न सक्यौँ भने पनि व्यापार घाटा धेरै हदसम्म कम हुन्छ । यो सम्भावना पनि छ ।’

त्यस्तै उहाँले जुन मूल्यमा बिजुली भारत निर्यात भइरहेको छ त्यही मूल्य बराबरमा देशका उद्योगहरूले पाएमा उत्पादन लागत घटाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले त्यो मूल्यमा देशभित्रका उद्योगहरूलाई बिजुली उपलब्ध गराउन पनि माग गर्नुभयो ।

महासङ्घका उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले भोग्नु परिरहेको ठूलो समस्या तरलताकारण रहेको बताउनुभयो । त्यस्तै उहाँले बजेटअनुसार मौद्रिक नीति नहुनु, ऐन संशोधन भइरहनु लगायतका समस्याका कारण उद्योग सङ्कुचनतिर गएको बताउनुभयो ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६