काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले पहाड खनेर ढुङ्गा बिक्री गरौँ भन्ने प्रस्ताव गर्दा देश बिक्री गर्न लागेकाे आरोप लाग्ने गरेको बताउनुभएकाे छ । उहाँले आफ्नो देशमा भएको स्रोत प्रयोग नगरि कुनै पनि देशमा लगानी बढ्न र पुँजी निर्माण गर्न नसक्ने दाबी पनि गर्नुभयो ।
नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई आज शुक्रवार सम्बोधन गर्दै मन्त्री शर्माले भन्नुभयाे, ‘वैदेशिक लगानी ल्यानका लागि परियोजनाको तयारी र परियोजनाप्रतिको विश्वास हुनुपर्छ । हाम्रो नीति, कानुन र व्यवहारका कारणले विश्वास नभएको अवस्था छ । सरकारले वैदेशिक ऋण कति लिने भन्ने प्रश्न छ । ऋण लिने तर देशको उत्पादन नबढाउने, हाम्रो ढुङ्गा बिक्री गर्न नपाउने, काठ काट्न नपाउने, जडीबुटी बिक्री गर्न नमिल्ने ? हाम्रो स्राेत प्रयोग गर्न नहुने अनि विकास गर्ने के बाट ? गर्ने कसरी ? पहाड फोरेर ढुङ्गा चलाउनै हुन्न रे, कुनै ठाउँ चाहिँ नचलाउने होला । एउटा पहाड खनेर ढुङ्गा बिक्री गर्न किन मिल्दैन ? काठ बिक्री गर्न नमिल्ने, अदालतले पनि ढुङ्गामा, जङ्गलमा र प्राकृतिक स्रोतमा हातै लगाउन मिल्दैन भन्छ । यहाँ कसैले पनि सबै जङ्गल काट्ने र सबै पहाड फाेर्ने कुरा गरेको छैन नि !’, त्यस्ता स्रोतबाट पुँजी निर्माण गर्न सक्छौँ ।’
कार्यक्रममा बाेल्दै मन्त्री शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीले नबुझेको बताउनुभयाे । (हेजिङ लगानी वा व्यवसायमा हुनसक्ने सम्भावित जोखिमलाई वित्तीय साधन प्रयोग गरेर पूर्णरूपमा हटाउने वा कम गर्ने तरिका हाे ।) उहाँले आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर याे चाहिन्छ भन्दा मन्त्रीले देश बरबाद बनायो भन्ने आरोप लागेको गुनासो गर्नुभयो । उहाँले विगत लामो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भनेर नियमवाली बनाउने कुरा अगाडि बढे पनि राष्ट्र बैंक ब्युराेकेसीलाई बुझाउन नसक्दा ठूलो लडाइँ लडेर अहिले मन्त्रिपरिषदबाट हेजिङसम्बन्धी नियमावली पास भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘वैदेशिक लगानी ल्यानका लागि परियोजनाको तयारी र परियोजनाप्रतिको विश्वास हुनुपर्छ । हाम्रो नीति, कानुन र व्यवहारका कारणले विश्वास नभएको अवस्था छ । सरकारले वैदेशिक ऋण कति लिने भन्ने प्रश्न छ । ऋण लिने तर देशको उत्पादन नबढाउने, हाम्रो ढुङ्गा बिक्री गर्न नपाउने, काठ काट्न नपाउने, जडीबुटी बिक्री गर्न नमिल्ने ? हाम्रो स्राेत प्रयोग गर्न नहुने अनि विकास गर्ने के बाट ? गर्ने कसरी ? पहाड फोरेर ढुङ्गा चलाउनै हुन्न रे, कुनै ठाउँ चाहिँ नचलाउने होला । एउटा पहाड खनेर बिक्री गर्न किन मिल्दैन ? काठ बिक्री गर्न नमिल्ने, अदालतले पनि ढुङ्गामा, जङ्गलमा र प्राकृतिक स्रोतमा हातै लगाउन मिल्दैन भन्छ । यहाँ कसैले पनि सबै जङ्गल काट्ने र सबै पहाड फोड्ने कुरा गरेको छैन नि !’, त्यस्ता स्रोतबाट पुँजी निर्माण गर्न सक्छौँ । अब हेजिङको कुरा उठेको छ । म ऊर्जामन्त्री हुँदा हेजिङ आवश्यक रहेको छ भन्ने लाग्यो । मैले हेजिङको विषय उठाएँ तर अहिलेसम्म फाइनल भएको छैन । मैले राष्ट्र बैंकलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु । ब्युरोकेसीलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु तर बुझ्दैनन् । हेजिङ चाहिन्छ यो देशलाई भन्दा देश बरबाद पार्याे मन्त्रीले भन्ने गरिन्छ । हेजिङ जलविद्युतलाई आवश्यक छ तर उसैले चाहिँदैन भन्छ । अहिले ठूलो लडाइँ लडेर मन्त्रिपरिषदबाट नियमवाली पास भएको छ ।’
मन्त्री शर्माले नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) मर्जमा जान नमानेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले संस्थागत वा व्यक्तिगत स्वार्थका लागि मर्जमा जान नमान्नु राम्रो नभएको बताउनुभयो । मन्त्री शर्माले संस्थाको सीईओ एउटै हुने भएकाले मर्जरमा जान नमान्नु पुरानो मानसिकता भएको टिप्पणी गर्नुभयो । उहाँले निफ्राले पूर्वाधार विकासमा प्रभावकारी भूमिका खेलेर लगानीको व्यवस्था गर्ने क्षमतामा वृद्धि गर्नु आवश्यक भएको बताउनुभयो ।
मन्त्री शर्माले नेपालमा खडा भएका लगानी कोष, सञ्चय कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थामा भएको पैसा पूर्वाधारमा लगानी नगरेर ब्याज खाने गरेको आरोप पनि लगाउनुभयो । उहाँले कोषहरूमा भएको अर्बाैँ रुपैयाँ जम्मा गरेर ब्याज खाने तर पूर्वाधारमा लगानी नगर्नाले पूर्वाधारको विकास हुन नसकेको भन्दै अब त्यस्ता संस्थाहरूमा रहेको रकम पूर्वाधारमा लगानी लगाउनुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले पूर्वाधार निर्माण देशका लागि भन्दा पनि व्यक्तिगत फाइदा हेरेर गर्ने प्रवृत्ति नेपालमा हाबी भएको बताउनुभयो । उहाँले नेपालमा बचत गर्ने संस्कार नहुँदासमेत ठूला पूर्वाधारमा लगानी गर्न स्रोतको अभाव भइरहेको बताउनुभयो । उहाँले पूर्वाधार विकासमा सरकारका मन्त्री, सरकारी कर्मचारी, लगानीकर्ता र नागरिककाे सोचमा नै समस्या रहेको जिकिर गर्दै पूर्वाधार विकास गर्ने सोचलाई बदल्नुपर्ने उल्लेख गर्नुभयाे ।
मन्त्री शर्माले नेपालमा कस्तो पूर्वाधार बनाउने भन्ने नीति नभएको बताउनुभयो । उहाँले सरकारसँग कुन पूर्वाधार आवश्यक छ, कस्तो पर्यटन पूर्वाधार चाहिएको हो, कुन विमानस्थल आवश्यक छ भन्ने योजना नहुनु राजनीतिक समस्या भएको बताउनुभयो ।








प्रतिक्रिया