कृषि

उखु किसानले अझै पाएनन् अनुदान रकम



काठमाण्डौ, २५ भाद्र । सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसकेको गुनासो गरेका छन् । नगदे बाली उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् ।

जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले रकम नदिएको भन्दै किसानले पटक पटक आन्दोलन समेत गर्दै आएका छन् ।

आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भने भुक्तानी भएको जिल्लाका उखु उत्पादक किसान रामेश्वर महतोले बताउनुभयो । उद्योगहरूले दिने रकम उठ्ने क्रम जारी रहेको तर सरकारले दिने अनुदान रकम नपाउँदा आफूहरू मारमा परेको उखु उत्पादक किसान रामकेशव साहले बताउनुभयो ।

गएको वर्ष उखु बेचेका उखु किसानले अहिलेसम्म पनि अनुदान रकम भुक्तानी नपाउँदा घर–व्यवहार चलाउन गाह्रो भएको जिल्लाका किसानको गुनासो छ । सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा मल तथा उखुखेतीका लागि आवश्यक सामग्री बजारबाट खरिद गर्न समस्या परेको नेपाल उखु उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ ।

गएको आर्थिक वर्षका लागि सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल ५ सय २० र नेपाल सरकारले ७० रुपैयाँ अनुदान रकम दिने सहमति भएको थियो । तर सहमति अनुसार रकम पाउन नसकेको उखु किसान राजकुमार उप्रेतीले बताउनुभयो ।

चिनी उद्योगीले समयमा किसानको उखु बिक्रीको तथ्याङ्क उपलब्ध नगराएकाले किसानको खातामा पैसा पठाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक जीवन पुरीले बताउनुभयो । उहाँले उद्योगीलाई चाँडै किसानले उखु बिक्रीको तथ्याङ्क पठाउन ताकेता गरिएको र उद्योगले तथ्याङ्क पठाएलगत्तै अनुदान रकम पठाउने प्रक्रिया अघि बढाइने बताउनुभयो ।

सर्लाहीमा तीनवटा उखु मिल रहेका छन् । जसमा इन्दुशङ्कर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले भुक्तानी गर्न बाँकी नै रहेको छ ।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६