प्रदेश

अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष



काठमाण्डौ, ०२ असोज । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने निष्कर्षसहितको अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

योसँगै निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो खुलेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषद्को गएको साउन २६ गतेको निर्णयअनुसार विज्ञ समूह गठन भएको हो ।

नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको र यो निजगढमा उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष छ । प्रतिवेदनअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त ठाउँ काठमाण्डौ–तराई द्रुतमार्ग र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको झण्डै ९ हजार हेक्टर क्षेत्रफल भित्रको झण्डै ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ ।

रुख कटानी तथा वातावरणीय क्षति घटाउन सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखेर एअरपोर्ट सिटीको अवधारणालाई पूरै त्याग्नुपर्ने सुझाव विज्ञ समूहले दिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र हात्तीको प्रमुख जैविक मार्ग रहेको भए पनि त्यो विमानस्थलभित्र नपर्ने र ठूला चराहरुको जोखिमपूर्ण आवतजावत पनि नहुने प्रतिवेदनमा भनिएको छ । प्रधानमन्त्री देउवाले प्रतिवेदन बुझ्दै विमानस्थल निर्माणमा ढिलाइ नगर्ने बताउनुभयो ।

प्रकाशित : २ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६