कपिलवस्तु,२३ मंसिर ।
हातमा लालपुर्जा देखाउँदै शिवराज नगरपालिका २ हरहडट्टी निशा खातुनले ५२ वर्ष पछि लालपुर्जा पाएकोमा खुसी व्यक्त गरिन् । लालपुर्जा पाउने आस हराएको भए पनि अहिले लालपुर्जा आउँदा उनमा खुसीको सीमा छैन । जग्गा भए पनि लालपुर्जा नहुँदा समस्या हुँदै आएको खातुनले सुनाइन् । खातुन जस्तै मद्रहवाका गुलिराम थारुको हातमा पनि लालपुर्जा आएको छ । नाप जाँच भएको धेरै वर्ष सम्म पनि लालपुर्जा नआउँदा आस नै मरेको थियो थारु भन्छन् जग्गाको लालपुर्जा पाउने सपना थियो अब पुरा भयो ।
खातुन र थारु जस्तै शिवराज नगरपालिका वडा नं २ का १ सय ४८ जनाले लालपुर्जा पाएका छन् । मदरहवा, ओझवा, बालापुर, हरहटीका डिह ब्लक लालपुर्जा वितरण गरिएको शिवराज नगरपालिकाको नगर प्रमुख अजय थापाले बताए ।
नापी कार्यालय तौलिहवा कपिलवस्तुले २०२७ सालमा नापी गर्दा छुट भएका डिह, ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख थापाले जनाए । लालपुर्जा वितरण कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारुले गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको बताइन् ।
नापी कार्यालय तौलिहवा जान अप्ठ्यारो हुने भएकाले गाउँमै लालपुर्जा वितरण गर्ने व्यवस्था गरिएको शिवराज नगरपालिका वडा नं २ का वडाध्यक्ष राम बहादुर चौधरीले बताए ।पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैङ्कबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबन्डा गर्नबाट वञ्चित हुँदै आएका थिए ।
२३ मंसिर २०७९, शुक्रबार








प्रतिक्रिया