ब्रेकिंग न्युज

सरकारी दायित्व सहकारीले पुरा गरेको छ : उपमेयर चौधरी



कुलराज भुसाल
कपिलवस्तु,२४ मङ्सिर
बाणगंगा नगरपालिकाकी उपमेयर रीता चौधरीले सरकारले गर्नुपर्ने आर्थिक विकासको कार्य सहकारीले पुरा गरिरहेको बताउनु भएको छ । माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा–६ भगलापुरको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा उपमेयर चौधरीले यस्तो बताउनु भएको हो ।
आर्थिक विकासको क्षेत्रमा सहकारीको योगदान उच्च रहेको बताउदै चौधरीले सहकारीले सरकारी दायित्व समेत पुरा गरिरहेको तर्क गर्नुभयो । ‘सहकारीले स्थानीय समुदायको आर्थिक रुपान्तरणमा टेवा पु¥याएको छ, युवालाई स्वरोजगार बनाएको छ र महिलालाई शसक्तिकरण गर्दै उद्यमशीलता तर्फ अग्रसर गराएको छ ।’ उपमेयर चौधरीले भन्नुभयो, ‘वास्तवमा सरकारले गर्नुपर्ने त्यस्ता तमाम कार्य समेत सहकारीले पुरा गरिरहेको छ ।’
संस्थाकी पूर्व उपाध्यक्ष समेत रहेकी चौधरीले सहकारी सर्वसाधारण जनताको आर्थिक समस्या समाधान गर्ने शसक्त माध्यम बनेको बताउदै ग्रामिण क्षेत्रका न्यून आय भएका नागरिकको आयआर्जन वृद्धि गर्नका लागि सहकारी कोसेढुङ्गा सावित भएको बताउनुभयो । चौधरीले माउण्ट एभरेष्ट सककारीले अन्य पालिकालाई समेत कार्यक्षेत्र बनाएर अघि बढेको कारण नगरपालिकाले उल्लेख्य सहयोग गर्न नसकेको समेत बताउनुभयो ।


कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले सहकारीलाई उत्पादनमूलक क्षेत्रसंग जोडेरे आर्थिक विकासमा राज्यलाई अतुलनीय योगदान दिन सकिने जिकीर गर्नुभयोे । ‘बचत तथा ऋण सहकारीले आफै उद्योग सञ्चालन गर्न सक्दैन तर सदस्यहरुलाई उद्यमशीलता तर्फ अभिप्रेरित गर्न र व्यवसायको लागि कर्जा प्रवाह गर्न सक्छ ।’ नेपालले भन्नुभयो, ‘सिप विकासको लागि तालिम दिन र उत्पादित वस्तुको बजार व्यवस्थापन गर्न सक्दछ ।’
नेपालले सन्ततीको लागि घरजग्गा जोडेर राखिदिए जस्तै बाल बचत पनि नियमित गरिदिनु पर्ने आंैल्याउनुभयो । सहकारीहरुले बाल बचत योजनालाई प्रभावकारी बनाउदै बाल बचत कर्ताले १६ वर्ष पुगेर नागरिकता प्राप्त गर्न साथ स्तहः सहकारीको सदस्य हुन पाउने नीति अवलम्बन गर्नुपर्नेमा नेपालले जोड दिनुभयो ।


कार्यक्रममा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासेले सहकारी अभियानमा माउण्ट एभरेष्ट सहकारीको विशिष्ट पहिचान भएको र बचत तथा ऋण सहकारी मध्येमा अब्बल सहकारीको रुपमा स्थापित भएको बताउनुभयो । बेल्बासेले सदस्यहरुमा बचत गर्ने बानीको विकास गराउदै उद्यमशील, स्वालम्बी र आत्मनिर्भर बनाउदै समृद्धिको यात्रामा अघि बढाउन सक्नुपर्ने औंल्याउनुभयो ।
वडा नम्बर ५ का वडा सदस्य ज्ञान बहादुर कार्कीले यस क्षेत्रमा पहिलो पटक सहकारीको अभियानको सुत्रपात गरेर हजारौं व्यक्तिहरुलाई सहकारी अभियानमा जोड्न सक्नु माउण्ट एभरेष्टको ठुलो सफलता भएको बताउनुभयो । कार्यक्रममा ५ जना जेष्ठ सदस्य, एकजना असल ऋणी सदस्य, एकजना सफल व्यवसायी सदस्य, एकजना असल बचतकर्ता सदस्य, एकजना असल शेयर सदस्यलाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थाका संस्थापक सदस्यहरु र पूर्व उपाध्यक्ष रिता चौधरीलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।
‘फजुल खर्च कटौती गरौं, बचत गर्ने बानी बसालौं’ भन्ने मूल नारा सहित साढे दुई दशकदेखि ग्रामिण भेगमा क्रियाशील यस संस्थाको २४ औं साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन संस्थाका सचिव खेमराज भट्टराईले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष लेखनाथ भट्टराईले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक देवी पोख्रेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र अध्यक्ष युवराज पोख्रेलले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा संस्थाका पदाधिकारी, विषयगत समिति सदस्यहरु, कर्मचारीहरु, जनप्रतिनिधि, पत्रकार तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव खेमराज भट्टराई र व्यवस्थापक रबिलाल भट्टराईको सञ्चालन रहेको कार्यक्रम उपाध्यक्ष गौरी चौधरीको स्वागत र अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
ग्रामिण क्षेत्रमा छरिएर रहेको पँुजीलाई एकीकृत गरी सदस्यहरुमा उद्यमशीलता विकास गराई आर्थिक रुपमा सबल एवं सक्षम बनाउने अभिप्रायले वि.सं. २०५३ सालमा २० जना सदस्यबाट २० रुपैंयाको दरले बचत संकलन गरी सुरुवात गरिएको यस संस्थाको साढे दुई दशकको यात्रमा निकै प्रगति भएको छ ।
हाल संस्थाको कुल शेयर सदस्य संख्या ३ हजार ८ सय ३१ पुगेको छ । जसमा १ हजार ९ सय ७० पुरुष तथा १ हजार ८ सय ६१ पुरुष सदस्य रहेका छन् । शेयर पुँजी १ करोड ७२ लाख ७९ हजार रहेको यस संस्थामा कुल बचत निक्षेप १६ करोड ४८ लाख ३८ हजार ६ रुपैया रहेको छ भने कुल लगानी १८ करोड ३६ लाख ७३ हजार ४ सय ६ रहेको छ । त्यस्तै जगेडा कोष २ करोड १२ लाख ६७ हजार ८ सय ४४ रहेको छ भने खुद बचत अर्थात नाफा ८३ लाख ५४ हजार ५ सय ५१ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थामा हाल १४ प्रकारका बचत योजनाहरु सञ्चालनमा रहेका छन् । संस्थाले बचतकर्तालाई ६ देखि १३.५ प्रतिशत व्याज प्रदान गर्ने गरेकोे छ भने १३.५ देखि १५.५ प्रतिशतसम्म व्याजदरमा कर्जा प्रवाह गर्ने गरेको छ । संस्थाले माउण्ट एभरेष्ट स्मार्ट एप्स मार्फत मोवाइल वैंकिङ सेवा प्रदान गरिरहेको छ भने रेमिट्यान्स सेवासंगै फण्ड ट्रान्फर, फोन पे, विद्युत विल, मोवाइल रिचार्ज, डिसहोम रिचार्ज, सिडिएमए रिचार्ज लगायतका सेवाहरु निरन्तर रुपमा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २४ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६