जीवनशैली

घाँस खेतीबाट वार्षिक २० लाख रुपियाँ गोकर्णको आम्दानी



गुल्मी २५ मङ्सिर । गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ । उहाँले ग्यालेक्सी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरी २०७६ साउनबाट ८० हजार रुपियाँ लगानीमा घाँस खेती सुरु गर्नुभएको थियो ।
उहाँले १२० रोपनी जग्गामा इपील–इपील, राईखन्यु र नेपियरलगायतका ५२ प्रजातिका घाँस खेती गर्दै आउनुभएको छ । जसमध्ये ८० रोपनी जग्गा गोकर्ण आफ्नैको हो । बाँकी ४० रोपनी जग्गा उहाँले भाडामा लिनुभएको छ । घाँसखेतीसँगै नेपालीले बाख्रापालन पनि गर्नुभएको छ ।
उहाँले घाँस विक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय स्वरूप बाख्रापालन रोज्नुभएको हो । नेपालीको आधुनिक खोर छ । जसमा ३८ वटा बाख्रा छन् । भौतिक संरचनासँगै अहिलेसम्म ३० लाख बढी लगानी गर्नुभएका गोकर्णले यो वर्ष २० लाख आम्दानी गर्नुभएको छ ।
आफू घाँस खेतीमा लाग्न पशुपालनबाटै प्रेरित भएको नेपाली बताउनुहुन्छ । पशुपालन धेरै ठाउँमा गरिरहेको देख्नुभएका नेपालीले पशुको आहार पु¥याउने कार्य सहरबाट भइरहेको देखेपछि गाउँघरमै घाँस खेती गर्ने उद्देश्यका साथ घाँसको व्यावसायिक उत्पादनमा लागेको बताउनुभयो । “पशुपालन धेरै ठाउँमा गरेको देखियो । त्यसको आहार भने व्यवस्थापन नभएको अवस्थामा मैले दीर्घकालीन फाइदा देखेर घाँस खेती सुरु गरेँ” नेपालीले भन्नुभयो, –“अझैँ पनि घाँस खेतीमा कमी रहेकाले अरूले पनि सुरुवात गरेमा निकै फाइदा पुग्ने देख्छु ।”
आफूले परदेशमा कमाएको रकमबाट किनेको मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरेको उहाँले सुनाउनुभयो । “८० हजारमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा किनेँ ।” नेपालीले भन्नुभयो,–“पछि घाँस खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल भएँ ।” आफू उत्पादित घाँस भण्डारणमा जुट्न थालेको उहाँले सुनाउनुभयो । फागुन, चैत, वैशाख र जेठ महिनामा घाँसको हाहाकार हुन्छ । त्यो समयको लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उहाँले बताउनुभयो ।
गुल्मीका स्थानीय तहसँगै लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र अन्य प्रदेशमा पनि घाँस विक्री गर्ने सोच बनाएको उहाँले बताउनुभयो । नेपालीले आफू जस्तै अरूलाई पनि रोजगारी दिनुभएको छ । आफूसँगै दिनभर अर्को एक जना र मौसमी रूपमा १०र१२ जना गरी औसतमा दैनिक ८ जनाले रोजगार पाइरहेका छन् । सरकारले पनि आफू जस्ता कृषकहरूका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६