प्रदेश

सिद्धबाबामा सुरुङ मार्गको प्रारम्भिक चरणको काम सुरु



पाल्पा, ०२ पुष ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम सुरु गरिएको छ। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउनुअघि निर्माण कम्पनीले ‘डिजाइन’ गर्ने तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य काम गरिरहेको जनाएको छ।

यस्तै माटो परीक्षण, साइट अफिस स्थापना, विद्युत् विस्तारलगायतका काम भइरहेको आयोजना निर्माण पक्षले जनाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु भएको सुरुङ मार्ग निर्माणपछि यस क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

आठ महिनाअघि ठेक्का सम्झौतापश्चात् स्थलगत अध्ययन गरेपछि डिजाइनको काम सकेर स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको छ। डिजाइन स्वीकृतिपछि सुरुङ मार्ग निर्माणको काम प्रारम्भ हुने निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जनाएको छ।

हाल ११ केभी विद्युत् क्षमता भएको विद्युत् विस्तारको काम भइरहेको छ। यस्तै माटो परीक्षण सकेर रिपोर्ट प्राप्त भइसकेको सडक डिभिजन बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिनुभयो। सुरुङ मार्गको डिजाइन अन्तिम चरणमा पुगेको र अब छिटै काम सुरु गरिने डिभिजन प्रमुख मरासिनीले बताउनुभयो। डिजाइनको काम सम्पन्न भएपछि सुरुङ छेड्ने काम हुने जानकारी उहाँले दिनुभयो। निर्माण पक्षले सरकारसँग भएको सम्झौताअनुसार नै कामको प्रगति भइरहेको जनाएको छ। आठ महिनाअघि नेपाल सरकारसँग सुरुङ मार्ग बनाउन चाइनिज कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो। त्यसपछि आयोजना स्थलमा गर्नुपर्ने प्रारम्भिक चरणको काम भइरहेको आयोजना पक्षले जनाएको छ। सुरुङ मार्गको काम सुरु गरेको पाँच वर्षभित्र सक्ने योजना छ।

यो आयोजनाका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ। सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटरको सुरुङ मार्ग बनाउने सम्झौता उल्लेख छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। लामो समयदेखि यात्रुले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङ मार्ग बनाउनुपर्ने माग गर्दै आएका थिए।

यो क्षेत्रमा हरेक वर्ष माथिबाट खसेको पहिरोका कारण कैयौँ यात्रुले ज्यान गुमाउनुपर्ने र घाइते हुनुपर्ने बाध्यता छ। सुरुङ मार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुने तानसेनवासी भीमसेन कार्कीले बताउनुभयो। “सुरुङ मार्ग सरकारको महत्वाकाङ्क्षी योजना हो तर सुरुङ मार्ग बनेपछि यो सडक भएर यात्रा गर्ने यात्रुलाई सहज हुन्छ,” उहाँले भन्नुभयो।

प्रकाशित : २ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६