प्रदेश

सांसदहरूको शपथपछि मात्रै सरकार गठनको प्रक्रिया सुल्टो हुन्छ: प्रचण्ड



काठमाण्डौ, ०३ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरूको शपथ ग्रहणअघि नै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनुभएको छ ।

आज आइतवार पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको हो । निर्वाचित सांसदहरूको शपथ ग्रहणविना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै उहाँले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष प्रचण्डले सांसदहरूको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिर जस्तो बन्न गएको उल्लेख गर्दै त्यसो गर्नु गलत हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, सांसदहरूको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने नजिर जस्तो बन्न गएको छ । यो सही होइन । सामान्यतया निर्वाचन आयोगले राष्टपतिकहाँ र राष्ट्रपति कार्यालयबाट संसद् सचिवालयमा निर्वाचित सांसदहरूको नाम लिस्ट गइसकेपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहण गराइ सकेपछि सबै पार्टीका संसदीय दलको बैठक बस्ने र प्रतिनिधि सभाका सांसदहरूको शपथ ग्रहण गरिसकेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु सुल्टो हुन्छ ।

अध्यक्ष प्रचण्डले यसअघि पनि संसदीय दलको बैठकपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाइने बताउँदै आउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार एक हप्ताको समय दिएर सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको छ ।

प्रकाशित : ३ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६