प्रदेश

बुटवलका व्यावसायिक सटरको भाडादर अचाक्ली महँगो भएको भन्दै मापदण्ड बनाउन सुझाव



बुटवल, ०४ चैत्र । बुटवलका व्यवसायीहरुले सटर भाडादर सम्बन्धी मापदण्ड बनाउन बुटवल उपमहानगरपालिकालाई सुझाव दिएका छन् । उपमहानगरपालिकाले आज सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न राखेको छलफल कार्यक्रममा सहभागीहरुले बुटवलमा व्यावसायिक सटरहरुको भाडादर अचाक्ली महँगो भएको भन्दै मापदण्ड बनाउन सुझाव दिएका हुन् ।

उनीहरुले महँगो भाडादरका कारण बुटवलका मुख्य व्यापारिक क्षेत्रबाट व्यापार व्यवसाय विस्थापित हुने र त्यसको मार व्यवसायीमा पर्ने भन्दै सबै क्षेत्रलाई चित्त बुझ्ने गरी भाडादरको मापदण्ड बनाउनु उचित हुने बताए ।

प्रदेशको राजधानी दाङ तोकिएपछि बुटवलको व्यापार व्यवसायमा संकट आएको भन्दै उनीहरुले यसबाट व्यवसायीहरु मर्कामा परेको गुनासोसमेत गरे । सहभागीहरुले बुटवलभित्र निर्माणाधीन योजना समयमै सम्पन्न गर्न बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशलाई निरन्तर दबाब दिनुपर्ने र आवश्यक परेमा बुटवल उपमहानगरपालिकाको अगुवाईमा सडकमा आउन समेत तयार रहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्दै देशकै अगुवा सहर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।

उनले बुटवलको व्यावसायिक क्षेत्रका समस्याका बारेमा उपमहानगरपालिकाले अध्ययन गरिरहेको र छिटै यसबारे आवश्यक निर्णय गर्ने बताए । चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वय सम्बन्धी कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने जनाइएको छ ।

प्रकाशित : ४ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६