कर्णाली

कर्णालीलाई गरिबीको भाष्यबाट मुक्त गर्नुपर्नेमा मुख्यमन्त्रीको जोड



सुर्खेत, ३ मङ्सिर

कर्णालीलाई विकटता, गरिबी र अभावको परिचयबाट मुक्त गरी सम्भावनायुक्त प्रदेशका रूपमा बहविकास गर्नुपर्नेमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले जोड दिनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज लेखकद्वय डा दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तक विमर्श कार्यक्रममा उहाँले जलस्रोत, खानी, कृषि, पर्यटन र जडीबुटीमा रहेको सम्भावनाको उपयोग गर्न सके कर्णालीबाटै समृद्धिको आधार तयार गर्न सकिने बताउनुभयो । कर्णालीलाई अशिक्षा, अभाव र गरिबीको पर्यायका रूपमा चित्रित गर्ने दृष्टिकोण बदल्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशको विकासका लागि राज्यले पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । विगतको तुलनामा कर्णाली धेरै अघि बढिसकेको उल्लेख गर्दै उहाँले प्रदेशलाई सधैँ विकटता र विपन्नताको दृष्टिले मात्र हेर्न नहुने धारणा राख्नुभयो । मुख्यमन्त्री शाहीले आफूले सरकारको नेतृत्व सम्हालेपछि छोटो अवधिमै प्रदेशसभामा विभिन्न कानुन निर्माणका लागि विधेयक प्रस्तुत गरिएको र तथ्याङ्क सुधारका काम अघि बढाइएको जानकारी दिनुभयो । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पुस्तकमा कर्णालीको इतिहास, भोगाइ, सङ्घर्ष र व्यवस्था परिवर्तनमा प्रदेशले गरेको योगदान समेटिएको बताउनुभयो । कर्णालीको विकासको उपयुक्त मोडेलबारे पनि पुस्तकमा चर्चा भएको भए अझ उपयोगी हुने उहाँको भनाइ थियो । लेखक डा रोकायाले पुस्तकमा कर्णालीमाथिको उपेक्षा, विकासको खोजी, समृद्धिका सूचक, सङ्घीयताका उपलब्धि र समसामयिक बहसका विषय समेटिएको जानकारी दिनुभयो । उहाँले हुम्लाबाट एकै दिन सडकमार्ग हुँदै सुर्खेत र सङ्घीय राजधानी काठमाडौँ पुग्न सकिने सडक सञ्जाल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । हिमाली क्षेत्रको पर्यापर्यटन प्रवर्द्धनका लागि सडक निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो । अर्का लेखक मानन्धरले कर्णालीको जलविद्युत् विकाससँग आफ्नो सम्बन्ध जोडिएको उल्लेख गर्दै तिला लगायतका आयोजनामा आफूले काम गरिरहेको जानकारी दिनुभयो । कर्णालीमा सम्भावनाका ढोका खुल्दै गएको भन्दै उहाँले तिनको उपयोगका लागि प्रदेश सरकारले अग्रसरता लिनुपर्ने बताउनुभयो । पुस्तकमा विगतको कर्णालीको अवस्था र भविष्यको विकास मार्गबारे विश्लेषण गरिएको छ । कार्यक्रममा पूर्वमन्त्री रनसिंह परियार, मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राडा सुदीप ठकुरी तथा नागरिक अगुवा पिताम्बर ढकाललगायतको सहभागिता थियो । —

प्रकाशित : ४ मंसिर २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६