देश

बढीघाट खोलामा दुई पटकसम्म भाँचिएर अलपत्र परेको पुलको चार वर्षपछि निर्माण सुरु



गुल्मी, ०८ चैत्र । गुल्मीको मुसिकोट नगरपालिकाको बढीघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण कार्य चार वर्षपछि पुनः सुरु भएको छ । मुसिकोट नगरपालिका ७ देखि मुसिकोट २, ३ र ४ वडालाई जोड्ने पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि काम रोकिएर वर्षौँसम्म अलपत्र परेको थियो ।

दुई पटकसम्म भाँचिएको पुल निर्माणका लागि तेस्रो पटकमा डिजाइन परिवर्तन गरी निर्माण गर्न लागिएको हो । पुरानो निर्माण कम्पनीसँग सम्झौता रद्द गरी जलप नेपाल प्रालीले पुल निर्माणको काम सुरु गरेको हो । स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको यस पुलको लागत दुई करोड ५० लाख रुपैयाँ रहेको छ ।

पुल निर्माणका लागि दुवैतिर जगको काम पूरा भइससकेको हुँदा अहिले पुल निर्माणस्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि अनिष पौडेलले बताउनुभयो । आउँदो असोजसम्म पुल निर्माण सम्पन्न हुने पौडेलको भनाइ छ ।

२०७६ सालको वैशाखमा पहिलो पटक पुल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाढी आएपछि पुलको टेका भासिँदा पुल भाँचिएको थियो । भाँचिएको पुलको दोस्रो पटक निर्माण सुरु भएको एक वर्षपछि ढलानकै क्रममा टेका भाँचिएपछि फेरि भत्किएको थियो । त्यति बेला पुल भाँचिदा इन्जिनियरसहित पाँच जना घाइते भएका थिए ।

दुई पटकसम्म भाँचिएको पुलको निर्माण कार्य तत्कालै सुरु गर्न नगरपालिकाले पटक–पटक सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराएपछि अहिले डिजाइन परिवर्तन गरी काम सुरु भएको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले जानकारी दिनुभयो । तोकिएकै मितिमा काम सकिनेमा उहाँको विश्वस्त हुनुहुन्छ । प्राकृतिक प्रकोपका कारण लामो समय पुल निर्माण कार्य अलपत्र हुँदा नगरको विकासलाई पछाडि धकेलेको खरेलको भनाइ छ ।

अलपत्र परेको पुलको निर्माण कार्य सुरु भएपछि अहिले त्यस क्षेत्रका नागरिकमा खुसी थपिएको छ । पहिलो पटक पुल भत्किँदा निराश बनेका र दोस्रो पटक पनि पुनः भत्किएपछि झनै आशा मारेका स्थानीयका लागि तेस्रो पटकको निर्माण कार्यले गति लिन सुरु गरेपछि अब त पुल बन्छ कि भन्ने आशा पलाएको स्थानीय प्रेम शाक्यले बताउनुभयो ।

मुसिकोट नगरपालिकाको बढीगाढ खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित पुलको लम्बाई ५५ मिटर रहेको छ । यो पुल निर्माण भएसँगै मुसिकोट नगरपालिकालगायत छिमेकी बाग्लुङ जिल्लाका नागरिकलाई समेत सदरमुकाम तम्घास आउजाए गर्न सहज हुनेछ ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६