प्रदेश

बुद्ध जन्मस्थान लुम्बिनीलाई फिल्म सिटीको रुपमा विकास गर्न पहल गर्छुः सञ्चारमन्त्री शर्मा



लुम्बिनी, १७ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुद्ध जन्मस्थान लुम्बिनीलाई फिल्म नगरीको रुपमा विकास गर्न पहल गर्ने बताएकी छन् । यसका लागि कार्ययोजना पेश गर्न चलचित्र विकास बोर्डलाई उनले निर्देशन समेत दिएकी छन् ।

शुक्रबारदेखि लुम्बिनीमा सुरु भएको तीनदिने ‘गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर जीवनीमा चलचित्र निर्माण अन्तर्राष्ट्रिय बजार तथा पर्यटन प्रवद्र्धन’ कार्यशालाको उद्घाटन गर्दै मन्त्री शर्माले उक्त कुरा बताएकी हुन् । हालैको भारत भ्रमणमा आफूले दोलखाको चरिकोटमा निर्माणाधीन अन्तर्राष्ट्रिय फिल्मनगरीको निर्माणमा सघाउन भारतीय अधिकारीहरुलाई आग्रह गरेको उनले बताइन् ।

नेपाल फिल्म छायांकनको आकर्षक गन्तव्य थलो रहेको भन्दै उनले आफूले भारतीय सञ्चार सचिवलाई दोलखा फिल्म सिटी बनाउन सघाउन आग्रह गरेको बताइन् । सरकारले सातै प्रदेशमा फिल्म सिटी बनाउने योजना यसअघि नै बताइसकेको छ ।

नेपाली फिल्म यतिबेला सन् २०२६ को ऐनले चलिरहेको भन्दै समयसापेक्ष नियम ल्याउनुपर्ने र यसका लागि आफूले पहल गर्नुपर्ने उनले बताइन् । फिल्म निर्माणमा महिलाको सहभागिता वृद्धि गर्न महिला फिल्ममेकरलाई हौसला बढाउनुपर्ने उनको भनाइ छ । बुद्धबारे यथार्थपरक बायोपिक फिल्म बनाउनुपर्ने समेत उनको सुझाव छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता सुनिल थापा, अभिनेत्री बसुन्धरा भुसाल, बोर्ड सदस्यहरु रवि अधिकारी र केएल पीडित सहित दर्जनौं फिल्मकर्मी सहभागी छन् । चन्द्रसूर्य सिनेमाले आयोजना गरेको गोष्ठीको उद्देश्य नेपाली फिल्मको निर्माण शैलीबारे छलफल र अभिमुखीकरण रहेको आयोजक संस्थाका किसान पोखरेलले जनाए ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६