प्रदेश

लुम्बिनीमा संकलित २० देशका मुद्रा राष्ट्र बैंकले साट्ने



लुम्बिनी, २३ चैत्र। लुम्बिनीमा संकलन भएको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकले नै सटही गर्ने भएको छ । विभिन्न मुलुकका श्रद्धालूले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही हुन सकेको थिएन । लुम्बिनीमा १ करोड १७ लाख ९५ हजार ९ सय ६६ रुपैयाँ बराबरका विभिन्न ३९ देशका मुद्रा राष्ट्र बैंकले सटही नगर्दा यत्तिकै थन्किएको थियो ।

यी मुद्रामध्ये २० वटा देशको मुद्रा सटही हुने भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए । नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवासँग अपरिवर्त्य मुद्राको सटहीका लागि सम्झौता भएको हो । भट्टराईका अनुसार लुम्बिनीको दानपेटिकाबाट संकलित मुद्रामध्ये सबैभन्दा धेरै म्यानमारका ‘क्याट’ रहेका छन् । त्यस्तै, ओमान, पेरु, इण्डोनेसिया, भियतनाम, भुटानका छन् । मङ्गोलिया, बङ्गलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान, मकाउ, इरान, मोरिसस, युगान्डा, इराक, माल्दिभ्स, चिली, स्वीडेन, रसिया, टर्की, ग्वाटेमाला, पोल्याण्ड, युक्रेन, ताइवान, जोर्डन, लेबनान, ब्राजिल, इजिप्ट, ब्रुनाई, सियरा लिओन, नोर्गिज क्रोनर लगायत देशका मुद्रा छन् ।

७३ लाख ४८ हजार १ सय ५८ नेपाली रुपैयाँ बराबरको ११ करोड ८० लाख ७९ हजार २ सय ५० क्याट सटही हुन सकेको छैन । त्यस्तै ५ हजार ३ सय ३९ ओमन रियाल सटही हुन सकेको छैन । जसको मूल्य नेपाली रुपैयाँमा १७ लाख ७९ हजार ९ सय ६६ बराबर हुन आउँछ । ८ लाख ११ हजार ६८ नेपाली रुपैयाँ बराबरको २२ लाख ७७ हजार २ सय ३० श्रीलङ्कन रुपैयाँ पोको पारेर राखिएको छ । यी नोट २०७२ साल यताको भएको र यी राष्ट्रका मुद्रा अमेरिकी डलरसँग परिवर्त्य गर्दा १ करोड १७ लाखभन्दा धेरै नेपाली रुपैयाँ हुन आउँछ।

नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले लुम्बिनीमा रहेका ती मुद्रा बैंकको एजेन्सी बैंक सिंगापुरको सिआईएमबीमा पठाई सटही गरिने बताए । दानपेटिकाको भेटी गणना गर्दा १ सय १ देशका मुद्रा लुम्बिनीमा भेटिएको थियो, जसमध्ये नेपाल राष्ट्र बैंकको परिवर्त्य मूल्यको सूचीमा परेका २१ देशका मुद्रा नियमित रुपमा सटही हुँदै आएको थियो भने बांकी मुद्रा सटही नभएर वर्षौंदेखि कोषमा थन्किएर बसेको थियो । सीआईएमबीले २० अन्य देशको मुद्रा सटही गरिदिने भएकाले नै विकाष कोषसँग सम्झौता गरिएको पाण्डेले जनाए ।

प्रयोगविहिन हुने अवस्थामा पुगेका ती नोटको सटही गर्न कोषले नेपाल राष्ट्र बैंकसमक्ष पत्राचार गरेपछि राष्ट्र बैंकले एजेन्सी मार्फत २० वटा देशको नोट सटही गर्न सहमत भएको हो । राष्ट्र बैंकले कोषसँग सम्झौता भएसँगै निकट भविष्यमा लुम्बिनीमा दानस्वरुप आउने यस्ता अपरिवर्त्य देशको नोट सटही गर्न बाटो खुलेको बताएको छ ।

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६