अर्थ-वाणिज्य

भन्सारमा अर्थमन्त्रीको चासो, राजश्व कम हुँदै जानुको कारण माग



काठमाण्डौ, २७ चैत्र । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरुसँग भन्सार नाकाबाट क्रमशः राजश्व कम हुँदै जानुको कारण माग गर्नुभएको छ ।

सोमवार आज काठमाण्डौमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गर्नुभएको हो ।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिनुभयो । उहाँले कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयात निर्यात भइरहेका छन् त्यसको बारेमा वास्तविक तथ्याङ्क पनि माग गर्नुभयो ।

अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भइ वा चोरी पैठारीका कारण राजश्व सङ्कलन कम भएको हो, त्यसको वास्तविक तथ्याङ्क विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजश्व चुहावट भएको भन्ने व्यापक खबर आइरहेको कुरालाई भन्सार विभागको नेतृत्वले गम्भिरताकासाथ लिन आग्रह गर्नुभयो । उहाँले भन्सार प्रमुखहरुलाई कर्तव्यनिष्ट भएर नतिजामूलक काम देखाउन निर्देशन दिनुभयो । उहाँले भन्सारमा आयात निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनावश्यक दुःख नदिन भन्सार कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले अर्थ मन्त्रालयले पारदर्शी रुपमा काम गरेर नतिजा देखाउन चाहेको र मन्त्रालयको नतिजा देखाउने मुख्य ठाउँ भन्सार विभाग भएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा नजितामुखी काम देखाउनको लागि सक्षम नेतृत्वको आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विभिन्न नाकामा के कारणले भन्सार घटेको छ । त्यो भन्सार नाकामा आयातको प्रगति के छ । त्यसको मूल्याङ्कन मलाई चाहिन्छ । कुन प्रकृतिका वस्तुहरु आउने गरेका थिए । जुन भन्सार नाकामा ठूलो मात्रामा भन्सार घटेको छ । कुन वस्तुको आयात कम भएर गयो कि अर्को नाकाबाट भएर गयो । त्यसको ब्रिक डाउण्ड मलाई चाहियो।’

उहाँले भन्सार नाकाबाट नै सामान बोकेका धेरै ट्रकहरु नेपाल भित्रिएको खबर बाहिर आएको भन्दै त्यसतर्फ भन्सार प्रमुखहरुको ध्यान जान आवश्यक रहेको बताउनु भयो । उहाँले भन्सार नाकाबाट नै विभिन्न सामानहरु जाँच नगरि भित्रिएको खबरका विषयमा भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशन दिनुभयो । उहाँले भन्सारमा हुने चुहावट रोक्नको लागि राजश्व सचिव, भन्सार विभाग प्रमुखको सक्षम नेतृत्व चाहिएको बताउनु भयो । उहाँले राजश्व सचिव र भन्सार विभागका विज्ञहरुले बजेट बनाउँदा उपयुक्त सुझाव दिन आग्रह गर्नुभयो ।

उहाँले सरकारको भन्सार नीति कस्तो बनाउँदा राज्यलाई कति फाइदा हुन्छ भन्ने विषयको विज्ञ भन्सार कर्मचारी भएको बताउनु भयो । उहाँले सरकारले भन्सार नीति बनाउँदा भन्सार शुल्क निर्धारण गर्दा कसैलाई फाइदा कसैलाई बेफाइदा हुने गरी बनाउन नहुने बताउनु भयो । उहाँले सरकारले भन्सार नीति समग्र नागरिकको हितमा हुनेगरी बनाउने बताउनु भयो ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६