देश

नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै



काठमाडौँ, ०२ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया सुरु गरिएको छ । त्यस प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । उनले जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई तीव्रता दिई कर्यप्रारम्भ गरिएको उल्लेख गरे ।

दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार उडान बढाउँदै लगिने प्रवक्ता पौडेलले बताए । ‘दुई मुलुक र इनरुट पर्ने आवश्यक उडान अनुमतिका निवेदन दिइसकेका छौँ, अनुमति आउनासाथ बुकिङ खुला गरिनेछ’, उनले भने । भैरहवाबाट उडानका लागि निगमका वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरिएको छ । निगमले हाल दुवै गन्तव्यमा काठमाडौँबाट भने नियमित उडान गरिरहेको छ । नेपालको विश्वप्रसिद्ध गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने गरी निगमको उडान सेवा सुरु भएपछि लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी यात्रुहरूलाई थप आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिने निगमले जनाएको छ ।

विसं २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको थियो । यो विमानस्थल भएर बौद्ध धमावलम्बीको बाहुल्यता भएका मुलुकहरू श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओसलगायत मुलुकमा हवाई सञ्जाल विस्तार गरी ती मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण हुने अपेक्षा गरिएको थियो । उक्त विमानस्थलबाट अहिले अन्तर्राष्ट्रियतर्फ कुवेतको जजिरा एयरले उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले अघिल्लो वर्ष छोटो समय चार्टर्ड उडान गरेको थियो । भैरहवामा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले उडानका लागि चासो देखाए पनि उडान सञ्चालन हुनसकेको छैन । रासस

प्रकाशित : २ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६