देश

स्थानिय तहले लिन थाले श्रम स्वीकृतिको आवेदन, श्रम कार्यालय धाउन नपर्ने



काठमाण्डौ, ०५ वैशाख । वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति र बिदामा आएकाहरूका लागि श्रम स्वीकृति नवीकरणको आवेदन पालिकाहरूले लिन थालेका छन् ।

सात सय ५३ वटै पालिकामा रहेका रोजगार सेवा केन्द्रहरूले यही वैशाख १ गतेदेखि नै श्रम स्वीकृतिको आवेदन भरिदिन थालेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अनलाइनबाटै श्रम स्वीकृतिको आवेदन दिन पर्ने र श्रम स्वीकृति पनि अनलाइनमार्फत नै पाइने व्यवस्था लागू भए पनि अनलाइन प्रणालीकै नाममा बिचौलियाहरूले ठगी गर्न थालेपछि त्यसको अन्त्यका लागि यस्तो व्यवस्था लागू गरिएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रले निःशुल्क अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन भरिदिन्छन् । राहदानी, करार सम्झौता, भिसा लगायतका कागजपत्रसहित आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएपछि श्रम स्वीकृतिको आवेदन दिन पाइन्छ ।

श्रम स्वीकृति लिनकै लागि काठमाण्डौ धाउने वा श्रम तथा रोजगार कार्यालयमा गएर लाइन लाग्नु पर्दैन । ‘वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ दिदीबहिनीलाई सेवा लिन अप्ठेरो र झन्झट भयो, टाढा जानु पर्‍यो भन्ने गुनासोका साथै श्रम स्वीकृति लिनकै लागि ठगिएको गुनासो हामीले पाइरहेका थियौँ’ श्रम सचिव अर्यालले भन्नुभयो ‘त्यस्तो ठगी र असहजताको अन्त्यका लागि यो व्यवस्था गरिएको हो, बिस्तारै वैदेशिक रोजगारी सम्बन्धी सबै कामहरु पालिकाबाटै हुने गरीको व्यवस्था गर्छौँ ।’

रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजक, रोजगार सहायक लगायत कर्मचारीलाई कसरी श्रम स्वीकृतिको सेवा प्रदान गर्ने भनेर तालिम पनि दिइसहेको सचिव अर्यालले बताउनुभयो ।

अनलाइनमार्फत नै वैदेशिक रोजगार कार्यालय काठमाण्डौ र सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले प्रदान गर्दै आएको श्रम स्वीकृतिको आवेदन रोजगार सेवा केन्द्रमार्फत नै दिन मिल्ने गरी गएको चैत २६ गते मन्त्रीस्तरीय निर्णय भएको थियो ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६