देश

रास्वपाका सभापति लामिछाने चितवन–२ बाट दोस्रो पटक विजयी हुने निश्चित



चितवन, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी हुने निश्चित भएको छ । यसअघि मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी हुने भएका हुन् ।

लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । मतगणना अन्तिमतिर पुग्दै गर्दा लामिछानेले ५० हजार २०५ मत पाइसकेका छन् । हालसम्म ७१ हजार ७०६ मत गणना हुँदा लामिछानेले निकटतम प्रतिद्वन्द्वीले भन्दा पाँच गुणा भन्दा बढी मत पाएका हुन् ।

चितवन २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतदानमा ७८ हजार २७७ मत खसेकामा अब ६ हजार ५७१ मतमात्रै गन्न बाँकी रहेको छ । अब बाँकी मत गणना गरेर निर्वाचन अधिकृतको कार्यालयले लामिछानेलाई विजयी घोषणा गर्नेछ । उद्योग वाणिज्य संघको हलमा जारी मतगणना अन्तिमतिर पुगेसँगै रास्वपाका नेता कार्यकर्ता भेला हुन थालेका छन् ।


मतगणनामा लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरिसकेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए ।
नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गएपनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो । उपनिर्वाचनबाट रास्वपाले तनहुँ १ मा समेत विजय हासिल गरेसँगै संसदमा उसको एक सिट थपिने भएको छ ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६