काठमाण्डौ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । सिंहदरबारमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको बताउनु भयो । उहाँले सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्ने सञ्चार क्षेत्रका समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत् न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाउन लागेको बताउनु भयो । उहाँले ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरुको लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाउन लागेको बताउनु भयो । उहाँले सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखि एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रुपमा प्रतिबद्ध छ । सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि पनि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको छ । पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्ने सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको छ ।’
प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई नै सरकारको उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।








प्रतिक्रिया