देश

शरणार्थी प्रकरणमा राजनीतिक संरक्षण र हस्तक्षेप हुन नदिन नागरिक खबरदारी

काठमाण्डौसहितका बिभिन्न ठाउँमा दिनहुँजसो दबाबमुलक कार्यक्रम भैरहेका छन्



काठमाण्डौ, ३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई राजनीतिक संरक्षण हुन नदिन र दोषीलाई कारबाही गर्न नागरिकस्तरबाट दबाब र खबरदारी बढ्दै गएको छ । काठमाण्डौसहितका बिभिन्न ठाउँमा दिनहुँजसो दबाबमुलक कार्यक्रम भैरहेका छन् । यो कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकसँगै राजनीतिक दलका नेता कार्यकर्ताको पनि स्वस्फुर्त रुपमा उपस्थिति हुने गरेको छ ।

प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिनको लागि आज पनि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा खबरदारी कार्यक्रम हुँदैछन् । अमेरिका पठाइदिने भन्दै सयौँ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अर्बौं रुपैयाँ असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता र तिनका परिवारका सदस्य तथा कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्व नै लागेको भन्दै नागरिकको तर्फबाट खबरदारी बढेको हो ।

नक्कली शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा अहिलेसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परेका छन् । गएको बुधबार पक्राउ परेका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता खाणले बिचौलियासँग पैसा लिएको तथा गृहमन्त्री हुँदा विभिन्न नीतिगत निर्णय गरेर ठगीमा सघाएको प्रमाण प्रहरीले फेला पारेको छ । ठगीमा सघाएबापत खाणले बिचौलियाबाट एक करोड २४ लाख रुपैयाँ लिएको यसअघि पक्राउ परेका अभियुक्तहरुले बयान दिएका छन् ।

यही प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले पनि प्रहरीलाई दिएको बयानमा खाणलाई बुझाउन बिचौलियासँग आर्थिक लेनदेन गरेको उल्लेख गरेका छन् । खाणसँगै पक्राउ परेका उनका स्वकीय सचिव नरेन्द्र केसीले ठगी प्रकरणमा पाँच लाख रुपैयाँ लिएको अभियुक्तहरुको बयान छ ।

यही प्रकरणमा मंगलबार काठमाण्डौ टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरू पैसा उठाउने बिचौलिया भएको प्रहरीले जनाएको छ । सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पक्राउ परिसकेका छन् ।

पक्राउ पूर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा नीरजसहित नौ जना फरार छन् । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र पूर्व गृहसचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रकाशित : ३० बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६