अर्थ-वाणिज्य

ढोरपाटनका मेयर २ वटा सहकारीका अध्यक्ष, २ अर्ब अपचलन



पोखरा, जेठ १०
सहकारीबाट सर्वसाधारणको रकम अपचलन गरेर फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले २ वटा सहकारी संचालन गरेको पाइएको छ। पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ।

सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्कविहिन भएपछि पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। सोही निवेदनका आधारमा नेपालीलाई विदेश जान नदिन गृह मन्त्रालय र आवश्यक छानविन गरी कारबाही गर्न सहकारी रजिष्ट्रारको कार्यालयमा पत्राचार गरेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्।

सोही पत्राचारका आधारमा गृह मन्त्रालयले मेयर नेपालीलाई विदेश जान रोक लगाउँदै सबै नाका र अध्यागमन विभागमा पत्राचार गरिसकेको छ। उनले सहकारीबाट बागलुङमा मात्र डेढ अर्ब बचत अपचलन देखिएको सिडिओ श्रेष्ठले बताइन्। इमेज वचत तथा ऋण सहकारी पोखरा महानगरपालिकामा दर्ता गरेका छन्। जहाँबाट ५ सय बढी बचतकर्ताका ५० करोड रुपैयाँ अपचलन गरेको सहकारीका प्रबन्धक दीपक पौडेलले बताए। उक्त रकम उनले घर जग्गा कारोबारमा लगानी गरेको पौडेलले बताए।

दुई संस्थाको गरी नेपालीले २ अर्ब अपचलन गरेको उनीहरूले बताएका छन्। प्रवन्धक पौडेलका अनुसार अध्यक्ष नेपालीले बागलुङकै संगीता थापा मगरलाई अपरेशन हेड बनाएका थिए। ऋण अधिकृत उनकै भतिज सुनिल नेपालीलाई नियुक्त गरेका थिए। मगर र नेपाली पनि सम्पर्कविहिन छन्।

मेयर नेपालीले बागलुङमा पनि इमेज बचत तथा ऋण सहकारी संस्था संचालन गर्न तत्कालीन रजिष्ट्रारको कार्यालयमा दर्ता गरेका थिए।बागलुङमा संचालन गरेको सहकारीको मुख्य कार्यालय बागलुङ बजार रहेको छ भने बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र संचालनमा छ। सहकारी ऐन अनुसार एउटा पालिकाभन्दा बाहिर पनि कार्यक्षेत्र बनाउन रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नुपर्छ। एउटा प्रदेश भन्दा बाहिर कार्यक्षेत्र बनाउन संघीय सरकारको सहकारी विभागमा दर्ता गर्नुपर्ने सहकारी ऐनमा व्यवस्था छ।

सहकारी ऐनले तोकेको सोही व्यवस्था अनुसार मेयर नेपालीले पोखरा र बागलुङमा एउटै नामका २ छुट्टा छुट्टै सहकारी दर्ता गरेका हुन्। तर सोही ऐनले एउटै व्यक्ति २ वटा सहकारीको संचालक हुन नपाउने व्यवस्था गरेको छ। तर नेपाली दुबै सहकारीका अध्यक्ष हुन्। उक्त सहकारीका पीडितहरु भने सरकारका नियमनकारी निकायले आवश्यक अनुगमन नगरेकाले उनी कारबाहीमा नपरेको गुनासो गर्छन्। २०७४ मा स्थानीय तहको निर्वाचन भएपछि ढोरपाटन नगरपालिकाको मेयर बनेका नेपालीले त्यसपछि सहकारीको संचालक पद छाड्नुपर्थ्यो।

सहकारी विनियमले जनप्रतिनिधीलाई संचालक बन्न नपाउने व्यवस्था गरेकोल पोखरा महानगरका सहकारी शाखाका प्रमुख भरतराज पौडेलले बताए। मेयर नेपालीले यसरी कानुनको उल्लङ्घन गरेका कुरा सहकारीमा बचत गरेका पीडित महानगरको सम्पर्कमा आएपछि मात्र थाहा पाएको उनको भनाई छ। कानुन विपरित काम गरेको र सहकारीमा बचत सर्वसाधारणको रकम अपचलन भएको भन्दै नियन्त्रणमा लिएर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको पौडेलले बताए।

सहकारीमा रकम बचत गरेका सर्वसाधारणले मेयर नेपालीलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रशासनले चासो नदिएको गुनासो गरेका छन्। पोखरा र बागलुङका सर्वसाधारण दिनहुँ प्रहरी र प्रशासनमा धाइरहेका छन्। एउटा कार्यालयले अर्को कार्यालयलाई देखाएर तर्किने गरेको पोखराका पीडित हरि खत्रीले बताए।

बागलुङबाट पोखरा बसाई आएका खत्रीलाई बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीमा बचत जम्मा गर्न उनका साथीहरुले सुझाएका थिए। साथीका सुझाव मानेर खत्रीले आफ्नो मात्र नभई आफन्तका पनि बचत लगेर सोही सहकारीमा जम्मा गरेका थिए। सहकारीमा उनले बचत गरेको रकम अहिले कागजको ढड्डामा मात्र उल्लेख छ। उनले राखेको पैसा सहकारीमा छैन। आफूले बचत गरेको रकम निकाल्न खोज्दा पनि सहकारीले नदिएको उनले बताए।

पोखराका सहकारी पीडितहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा ठगीको उजुरी दिँदा दर्ता नभएको गुनासो गरेका छन्। गलुङ बजारमा मुख्य कार्यालय रहेर बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र चलाएको अर्को इमेज बचत तथा ऋण सहकारीबाट डेढ अर्ब अवचलन भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। बागलुङमा रहेको उक्त सहकारीको आर्थिक हिनामिनाका विषयमा सहकारी रजिष्टारको कार्यालय गण्डकीले अनुसन्धान गरिरहेको छ। बागलुङमा डेढ अर्ब र सहकारीका पोखरामा ५० करोड गरी २ अर्ब रुपैया अध्यक्ष नेपालीले अवचलन गरेर फरार भएको बचतकर्ताको दाबी छ।

सर्वसाधारणले बचत गरेको रकम सहकारीका अध्यक्ष नेपाली आँफैले ऋण लिएर लगानी गरेको पोखराका प्रवन्धक दीपक पौडेलले बताए। उनका अनुसार नेपालीले काठमाडौं, पोखरा र बागलुङमा घरजग्गामा लगानी गरेका छन्। उनको पोखरामा २ वटा घर छ भने बागलुङको बुर्तिवाङमा होटल चलाएका छन्। यस्तै, काठमाडौं, पोखरा र बागलुङमा प्लटिङमा लगानी गरेका छन्। करिब ४ महिनाअघि देखि सहकारीका बचतकर्ताले रकम नपाएपछि गुनासो बढ्दै गएको थियो । अध्यक्ष नेपालीले आप्mनो घर जग्गा बिक्री गरेर बचत फिर्ता गर्ने आश्वासन दिँaदै आएका थिए। एकाएक सम्पर्कविहिन भएपछि आफुहरुको रकम डुब्ने हो की भन्ने चिन्ता लागेको बचतकर्ता हरि खत्रीले बताए। सर्वसाधारण बचतकर्ताको करोडौं रकम डुब्ने अवस्था आउनुमा राज्यका नियमनकारी निकाय पनि उत्तिकै जिम्मेवार भएको अर्का एक पीडितले बताए।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६