सन्तोषकुमार गुप्ता,
दाङ ३० जेठ ।लुम्बिनी प्रदेशसभामा प्रमुख बिपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री लिला गिरीले जनताको जीवनस्तर सुधार्ने कामका लागि सरकारलाई साथ दिन र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ । उहाँले प्रदेशका जनताको जीवनस्तर सुधार गर्नेगरी सरकारले सबैदल लाई साथ लिएर अभिभावकीय भूमिकाका साथ काम गर्न तयार रहनुपर्ने समेत बताउनुभयो । लुम्बिनी प्रदेशसभामा प्रमुख बिपक्षी दलका नेता तथा पुर्व मुख्यमन्त्री लिला गिरीले जनताको जीवनस्तर सुधार्ने कामका लागि सरकारलाई साथ दिन र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भयो ।
लुम्बिनी प्रदेशसभाको नेकपा एमाले संसदीय दलका नेता समेत रहनु भएका पूर्व मुख्यमन्त्री गिरीले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आज प्रदेशसभामा बोल्नुहुदै आफुहरुलाई सत्तामा जान कुनै हतारो र छिनाझप्टी गर्नुपर्ने अवस्था नरहेको तर जनताको भलो हुने र विकासका काममा हामी सहकार्य गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले समृद्ध प्रदेश निर्माणका लागि सहकार्य गरेर प्रतिपक्षी दल अगाडि बढ्न तयार हुँदा सरकारले प्रदेशका जनताको अभिभावक भएर काम गर्नुपर्ने बताउनुभयो ।
नेता गिरीले दीर्घकालिन योजनालाई हेक्का नै नराखेर नीति तथा कार्यक्रम ल्याइएको टिप्पणी गर्नुभयो । उहाँले यसअघि आफ्नो नेतृत्वको सरकारले प्रदेश राजधानी सहर विकास कार्यक्रम मार्फत् गुरुयोजना स्वीकृत गरेर बजेट स्रोत सुनिश्चित गरेको स्मरण गराउनुभयो ।बिपक्षी दलका नेता गिरीले तरकारी, फलफूलको आयात प्रतिस्थापन गर्ने भन्दा आयातित त्यस्ता बस्तुको विषादी चेकजाँच गर्न नसक्नु कमजोरी रहेको बताउनुभयो ।कृषि अनुदानमा अब गुनासो नआउने गरी काम नगर्न सुझाव दिदै कार्यकर्ता पोस्ने र भर्ती गर्ने कुरा स्वीकार्य नहुने बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन रणनीतिक प्राथमिकतामा केन्द्रीत हुने गरी कार्यक्रम सञ्चालन गर्ने गरि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेश सरकारका प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, भौतिक पूर्वाधार, स्वास्थ्य जस्ता बिषयलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा यसअघिका सरकारले अगाडी सारेका कार्यक्रमलाई निरन्तरता व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगार केन्द्रित कृषि प्रणालीलाई प्राथमिकतामा राखेको छ । रोजगारी सिर्जना गर्ने नवीन उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ । प्रदेश सरकारले गत शुक्रबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम माथी आजदेखि छलफल सुरु भएको हो । आजदेखि सुरु भएको नीति तथा कार्यक्रममाथीको छलफल ३१ गते सम्म चल्ने छ ।
३० जेष्ठ २०८०, मंगलबार
प्रतिक्रिया