काठमाडौं ५ असार । भिम सार्कीकोे उत्कृष्ट अर्धशतकीय इनिङ र करण केसीको सर्वाधिक ४ विकेटको मद्दतमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको शानदार जित निकालेको छ ।
जिम्बावेको हिरारेस्थित ताकसिङ्गा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरको समाप्तिमा अलआउट हुँदै दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पुरा गर्दै २ सय ११ रन बनायो ।
नेपालको जितमा भिम सार्कीले सर्वाधिक ७७ रनको अविजित इनिङ खेले । उनले १ सय १४ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरे ।नेपाललाई राम्रो सुरुआत दिएका ओपनर कुशद भुर्तेल ५४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३९ रन जोडेर आउट भएका थिए । आसिफ शेख १६ बलमा २ चौकासहित १२ रनमा आउट हुँदा, कप्तान रोहित पौडेलले १६ रन र कुशल मल्ले १३ रन योगदान गरे ।दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे ।
अमेरिकाका सौरभ नेत्रभाल्कर, नोत्स केन्जीगे, निसर्ग पटेल र स्टेभन टेलरले समान एक विकेट लिए ।पहिला ब्याटिङ गरको अमेरिकाका लागि अघिल्लो खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गदानन्द सिंह पभेलियन फर्किएपछि क्रिजमा सातौं नम्बरमा क्रिजमा आएका जाहङगरले ७९ बलमा १० चौका र ३ छक्काको मद्दतमा शतक पुरा गरेका थिए । संकटमा रहेको अमेरिकाको उद्दार गर्ने क्रममा उनी सय रनमा अविजित रहे । भने, अमेरिका एक ओभर बाँकी रहँदा अलआउट भयो ।अमेरिकाका सात ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा ओपनर सुशान्त मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४२ रन जोडे । गजानन्द सिंहले २६ रन र जेसी सिंहले १२ रन जोडे ।
नेपालको बलिङमा करण केसीले ९ ओभरमा ३ मेडन राख्दै सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चिएर तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।
अमेरिकालाई पराजित गरेसँगै समूह ए मा पहिलो जित निकालेको नेपालले २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा घरेलु टिम जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो ।
अमेरिकाको भने, यो लगातार दोस्रो हार हो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।अब नेपालले विश्वकप छनोट अन्तर्गत समूह चरणको तेस्रो खेल बिहिबार वेस्ट इन्डिज र अन्तिम खेल सनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
५ असार २०८०, मंगलबार
प्रतिक्रिया