रुपन्देही १५ साउन । एड्स, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फन्डको अनुदानमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आठ करोड ७० लाख २० हजार चार सय २० रुपैयाँको लागतमा निर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला ग्लोबल फन्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टेफन स्टोजानोभिक, सेभ द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले संयुक्तरूपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सोमवार एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभएको हो ।
अत्याधुनिक सुविधासम्पन्न नवनिर्मित प्रयोगशालाबाट कोभिड–१९ र क्षयरोगलगायत अन्य विविध खालका सरुवा रोगहरूको उच्चस्तरीय माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षणदेखि प्याथोलोजिकल र विशिष्टीकृत मलिक्युलर विश्लेषणसम्मका सेवा प्रदान गरिनेछ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आम नागरिकको स्वस्थ्य सेवामा पहुँच बनाउने गरी प्रयोगशाला सञ्चालन गरिने बताए । उनले प्रयोगशालाको गुणस्तरलाई ध्यान दिन पनि सुझाव दिएका थिए ।
’यसलाई थप प्रयोगयुक्त बनाउन अनुसन्धानात्मक रिसर्च सेन्टरको रुपमा विकास गर्नुस । दक्ष जनशक्ति तयार गर्ने गरी तालिम चलाउने, नयाँ दक्ष जनशक्ति तयार गराउने गरी लाग्नुपर्छ । यसमा प्रदेश सरकारको साथ र सहयोग रहन्छ,’ मुख्यमन्त्री चौधरीले भने ।कार्यक्रममा बोल्दै प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश संरचना निर्माणपछि पहिलो पटक भवन निर्माण सम्पन्न भएको भन्दै यसलाई पूर्ण क्षमतामा चलाउनको लागि आफूले सहयोग गर्ने बताए ।बुटवल, १२ तामनगरमा निर्माण भएको यो प्रयोगशालाको तत्कालीन समाजिक विकासमन्त्री सुदर्शन बरालले २०७८ सालमा शिलान्यास गरेका थिए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पहलमा भवन निर्माण भएको हो ।
प्रतिक्रिया