अर्थ-वाणिज्य

राहदानी बनाउने ३ गुणाले बढेपछि एकै वर्षमा ७ करोड राजश्व संकलन




पालपा १९ साउन । अघिल्लो वर्षको तुलनामा गत आव २०७९/०८० मा राहदानी बनाउनेको सङ्ख्या तीन गुणाले बढेको छ । आव २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय पाल्पाबाट चार हजार ४३१ ले राहदानी बनाएका थिए भने गत आव २०७९/०८० मा १२ हजार ८२३ जनाले राहदानी बनाएका हुन् ।यो संगै गत आव २०७९/०८० मा राहदानीबाट ६ करोड ९६ लाख १० हजार दुई सय रुपियाँ राजश्व सङ्कलन भएको छ । प्रशासनले दु्रतसहित विद्युतीय राहदानी सेवाबाट झण्डै सात करोड राजश्व सङ्कलन गरेको हो । आव २०७८/०७९ को तुलनामा गत आव २०७९/०८० मा चार करोड ३४ लाख बढी रहेको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिनुभयो ।प्रशासनले दुई वर्षअघि ४८१ वटा एमआरपी पासपोर्टको द्रुत सिफारिस गरेको थियो भने गत आवमा ४९१ वटा सिफारिस गरेको सहायक प्रजिअ रानाले बताउनुभयो ।
प्रशासनले आव २०७८/०७९ मा १४९ वटा नाबालिक परिचयपत्र जारी गरेको थियो भने गत आव २०७९/०८० मा ३२४ वटा सिफारिस गरेको जनाएको छ । यस्तै दुई वर्षअघि वंशजको आधारमा १२ हजार १४९ वटा नागरिकता जारी गरिएको थियो भने गत आवमा ११ हजार १३४ वटा जारी गरिएको थियो । प्रशासनले गत आवमा जम्मा एक वटा मात्र वैवाहिक अङ्गीकृत नागरिकता जारी गरेको छ भने दुई वर्षअघि छ वटा जारी गरेको प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले जानकारी दिनुभयो ।
दुई वर्षअघिको तुलनामा गत वर्ष राष्ट्रिय परिचयपत्र सङ्कलनको काम भने न्युन भएको छ । आव २०७८/०७९ मा ४२ हजार २९६ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको थियो भने गत आव २०७९/०८० मा १८ हजार २८६ जनाको मात्र सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । प्रशासनले गत आवमा विपद्मा परेका नागरिकलाई दुई करोड ३५ लाख २१ हजार ५६५ रुपियाँ राहत रकम वितरण गरेको जनाएको छ । यस्तै संयुक्त बजार अनुगमन १६ पटक, कार्यालय अनुगमन २० पटक र सङ्घसंस्थाको अनुगमन २३ पटक गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
प्रशासनले गत आवमा विपद्का घटना न्युनीकरणका विभिन्न क्रियाकलाप, प्रभावकारी बजार अनुगमन, लागूऔषध न्युनीकरण गर्न सचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । यस्तै खाद्य आपूर्ति तथा बजार व्यवस्थापनका लागि अनुगमन, नवप्रवर्धनात्मक अन्तर्गतका विभिन्न क्रियाकलापहरू गरेको प्रजिअ बास्तोलाले बताउनुभयो ।उहाँका अनुसार रुग्न आयोजना समयमै सम्पन्न गर्न सर्वपक्षीय बैठक, राहदानी सेवा सहज बनाउन काउण्टर स्थापना, सरकारी कार्यालयको सेवाप्रवाहलाई प्रभावकारी बनाउन पहल गरिएको छ । कार्यालयको सेवा सेवाग्राहीमैत्री बनाएको, हेल्प डेस्क स्थापना गरेको, दरबार सङ्ग्राहलय परिसरका टहरा भत्काउन समन्वय गरेको प्रशासनले मुख्य उपलब्धीका रुपमा औल्याएको छ ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६