प्रदेश

वनमा पैसा कमाउन आएको हैन, जनता र समाज सुधारमा केन्द्रित छुः अध्यक्ष थापा

वनको रकम तल माथि गरेको प्रमाणित भए आफै कालोमोसो दल्न तयार छु




कपिलवस्तु, ३० साउन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित खोजिपुर सामुदायिक वनले यसपटक १९ हजार क्यूफिट काठ विक्रिका लागि तयार गरेको छ । वन भित्र उत्पादित विभिन्न जातका उक्त परिमाणका काठ सहित वनले ३२ चट्टा दाउरा समेत बिक्रिका लागि तयार रहेको जनाएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा भएका वनका प्रगति सार्वजनिक गर्न मंगलबार वन कार्यसमितिको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा खोजिपुर सामुदायिक वनका अध्यक्ष दिपककुमार थापाले गत वर्षको भदौ महिनामा वनका १३ औँ साधारणसभा तथा ५ औँ अधिवेशन पश्चात खोजिपुर सामुदायिक वनले १० हेक्टर वन क्षेत्रमा विभिन्न जातका फलफुलका बिरुवा लगाएको र ४ हेक्टर क्षेत्रफलमा बाँस रोपण गरिएको जानकारी दिनुभयो । वनले वृक्षरोपण गरिएको स्थानमा प्रवेश द्धार समेत बनाएको छ ।

यस्तै यो अवधिमा सामुदायिक वनले उपभोक्ताहरुको सहजताका लागि आधुनिक शौचालय बनाएको छ भने पिउने पानीका लागि नल गाडिएको अध्यक्ष थापाले बताउनुभयो ।

यस्तै वनको बजेटबाट यो अवधिमा किसानको खेतमा सहज सिँचाइ सुविधा विस्तार गर्न १२६ मिटर सिँचाइ नहर निर्माण भएको छ । वनको सभाहलमा दिवास र रेलिङ्ग लगाएर सुरक्षित बनाइएको छ भने सामुदायिक वनको सभाहलमा अधुरो काम सम्पन्न गर्न गेट निर्माण र विभिन्न ढलानका काम समेत गरेको अध्यक्ष थापाले बताउनुभयो ।

वनका अध्यक्ष थापाका अनुसार वनका केही उपभोक्ताबाट वन क्षेत्रको जग्गा अतिक्रमणमा परेको छ । उक्त जग्गा फिर्ता गराउने र जग्गा कब्जा नगर्नका लागि पनि उपभोक्तालाई आग्रह गर्ने गरिएको छ ।

यस्तै सामुदायिक वनको २९ हेक्टर जमिनमा थिनिङ गरि पत्लाउने काम सम्पन्न गरेको पनि उहाँले बताउनुभयो ।
खोजिपुर सामुदायिक वन वि.सं.२०६६ सालमा दर्ता भई संचालनमा आएको हो । कुल क्षेत्रफल २७६.५ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा हाल साल, अस्ना, जामुन, बिजयसाल लगाएतका काठहरु बढी मात्रामा उत्पादन हुने गर्दछ । वनको आम्दानीको मुख्य स्रोत समेत सोही जातका काठ रहेको वन उपभोक्ता समितिले जनाएको छ ।

सामुदायिक वनको हेरचाह, र संरक्षण सहित विकासका लागि वन उपभोक्ता सदस्यहरुसँगै वन कार्यसमितिका पदाधिकारी तथा कर्मचारीहरु दिनहुँ खटिएका हुन्छन् । यहाँको आम्दानीले वडा नम्बर ९ को जिनुवा टोलका विभिन्न विकासका आयोजनामा बजेट खर्च हुँदै आएको छ । उपभोक्ताले संरक्षण र विकास गरेको वनमा अहिले प्रदेश सरकारले २५ प्रतिशत भाग खोज्न खोजेको विषयमा भने वनका अध्यक्ष थापा आक्रोशित हुनुहुन्छ । उहाँ वैज्ञानिक वन महासंघको लुम्बिनी प्रदेश अध्यक्ष समेत हुनुहुन्छ ।

आफूले संवर्द्धनमा आधारित वैज्ञानिक वन व्यवस्थापनका लागि निरन्तर लडिरहेको र यस सम्बन्धमा प्रदेश सरकारका मुख्यमन्त्री देखि संघीय सरकारका मन्त्रिहरुसँग निरन्तर खबरदारी गरिरहेको बताउनुभयो । अध्यक्ष थापाले आफुले वनको ४ कार्यकाल सम्म नेतृत्व लिईरहदा वनमा पैसा कमाउन नआएको भन्दै जनता र समाज सुधारमा आफु केन्द्रित भएको बताउनुभयो । उहाँले वनको एक रुपैया रकम पनि तल माथि गरे आफु र समिति कालोमोसो दलेर राजनिामा दिन तयार रहेको पत्रकार सम्मेलनमा बताउनुभयो।

यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले एउटा वडाको बजेट भन्दा सामुदायिक वनको आम्दानीको स्रोत बढी भएका कारण त्यसलाई सहि ढङ्गबाट परिचालित गर्नुपर्ने बताउनु । उहाँले वडाको बजेटबाट सबै टोलका सबै पक्षमा समानुपातिक बजेट बाँडफाँड गरे जस्तै वनको बजेटलाई पनि समानुपातिक वितरण गरी खर्च गर्ने परिपाटिको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले सामुदायिक वनका हरेक गतिविधिहरुलाई पत्रकार तथा मिडियाहरुले नजिबाट हेरिरहेको भन्दै सामुदायिक वनहरुले आफ्ना गतिविधि र कार्यक्रमहरुलाई पारदर्शी बनाउन सके सबैमा वन प्रतिको विश्वास बढ्ने बताउनुभयो ।

खोजिपुर सामुदायिक वनले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव जानु पाण्डे, कोषाध्यक्ष मोहन बेल्बासे लगायत जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत सक्रिय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६