माधव बेल्वासे चन्द्रौटा,३२ साउन।आँखा पाक्ने रोगको जोखिम बढेसँगै शिवराज नगरपालिका वडा ३ ले गाउँमै पुगेर आँखा शिविर सञ्चालन गरेको छ । वडाको खरेन्द्रपुर,मदवा र बलुहवामा शिविर सञ्चालन भएको हो । बिहीबार बलुहवामा आयोजित शिविरमा आँखा जाँच गर्ने नागरिकहरूको भिड लाग्यो । आँखा दुख्ने,आँखा पाक्ने,मोतिया बिन्दुको समस्या लगायतका बिरामीहरूले शिविरबाट लाभ लिएका छन् । शिविरबाट वृद्धवृद्धाहरु बढि लाभान्वित भएका छन् । छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगंजको स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच गरेको हो । वडाका नागरिकहरूलाई आँखाको रोगबाट बचाउन निःशुल्क शिविर सञ्चालन गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।
बलुहवाकी सोनमती थारु गाउँमै आँखा जाँच गर्न पाएकोमा खुसी छिन् । उनले परिवारका सबै सदस्यको आँखा जाँच गराउनुभएको छ । वडा कार्यालयले अहिलेको महामारीको समयमा नागरिकहरूको लागि शिविर सञ्चालन गरेको धन्यवाद समेत दिइन् । बलुहवा टोल विकास संस्थाले केही दिन अघि नै शिविरमा सहभागी हुन आग्रह गरिसकेको थियो । खरेन्द्रपुरमा भएको शिविरमा ७४९ जनाको आँखा जाँच गरिएको छ जसमा ४१ जनाको मोतिया विन्दुको अप्रेसन गरिएको हो । त्यस्तै मदवामा भएको आँखा शिविरमा ३९० जनाले जाँच गराएका छन । ती मध्ये २२ जना मोतियाविन्दुका बिरामी रहेकोले अप्रेसनको लागि बहादुरगंज पठाइएको चनइ स्वास्थ्य चौकीका प्रमुख जित बहादुर बिसीले बताउनुभयो । शिविरमा उल्लेखनीय सहभागिता देखिएको आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।
प्रतिक्रिया