देश

बिजुलीबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लागेको छः प्रधानमन्त्री प्रचण्ड



काठमाण्डौ, ०५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिजुली उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताउनुभएको छ ।

आज मङ्गलवार भरतपुर २२०/१३२ केभी सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले देशभित्र उत्पादित बिजुली यहीँ खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तीव्रता दिन र बाँकी भएको बिजुली निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गर्नुभयो ।

‘एउटा छिमेकी देश भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ, यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दैछौँ । नेपालको बिजुली बङ्गलादेशसम्म पुर्‍याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ’, उहाँले भन्नुभयो, ‘अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदैछु, चीनसँग प्रसारण लाइन र बिजुली व्यापारका विषयमा सम्झौताहरू हुँदैछन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने छ ।’

प्रधानमन्त्रीले जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानुनको संसोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताउनुभयो । १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् रूपान्तरणकारी आयोजना र १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औचारिक रूपमा प्राधिकरणलाई दिन लागिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रचण्डले नयाँ भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन पूर्व पश्चिम बिजुली आपूर्तिका लागि रणनीतिक महत्त्वको रहेको बताउनुभयो ।

प्रकाशित : ५ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६