ब्रेकिंग न्युज

एमाले लुम्बिनी अधिवेशनः अध्यक्षको दाबेदारमा कँडेल र रिजाल




बुटवल, ०९ भदौ ।
नेकपा एमालेका लुम्बिनीका नेताहरू प्रदेश अधिवेशनमा केन्द्रित भएका छन् । यही भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको तयारी एमालेले तीव्र बनाएको छ । अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरू नेतृत्वमा आउन लबिङलाई तीव्र बनाएका छन् । वामपन्थी वर्चस्व क्षेत्र भएको र अन्य प्रदेशभन्दा पहिला अधिवेशन हुन थालेपछि केन्द्रीय नेताहरूको भिड रूपन्देहीमा बढ्दै गएको छ ।

पार्टीको केन्द्रीय पदाधिकारीमा लुम्बिनीका प्रभावशाली नेताहरू रहेकाले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी नेतृत्वमा को आउला भन्नेमा चासो बढेको छ ।

एमाले लुम्बिनीको नेतृत्वको लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य हरि रिजाल मुख्य दाबेदारको रुपमा देखिएका छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट नेताको रूपमा चिनिन्छन् ।

एमाले नेता तथा प्रदेश सांसद विष्णु पन्थीले कँडेल र रिजालमध्ये एक जना प्रदेश अध्यक्षको नेतृत्वमा आउने बताए । ‘पार्टी चुनाव हुने अवस्था जहाँसम्म नआउला’ पन्थी भन्छन्, ‘अहिले निर्वाचन हुने अवस्था आए कँडेल र रिजालबीच नै प्रतिस्पर्धा हुन्छजस्तो मलाई लाग्छ । पार्टीमा अहिले गुटबन्दी छैन । आन्तरिक रुपमा आफ्नो फेवरको नेताहरूलाई नेतृत्वमा ल्याउन पार्टीका दोस्रो तहका नेताहरू अवश्य लाग्नुहुन्छ ।’

अध्यक्ष कँडेलले पार्टीलाई बलियो र सुदृढ बनाउन एक पटक नेतृत्वमा आउने इच्छाअनुसार अघि बढेको बताए । ‘म पार्टीको संसदीय र केन्द्रीय कमिटीमा पनि छैन’ कँडेलले भने, ‘पार्टीको आग्रह अनुसार अघि सरेको हुँ ।’ यता रिजालले पार्टीलाई व्यवस्थित, वैचारिक रुपमा सुधार ल्याउन नेतृत्वमा आउन चाहेको बताए ।

आउँदो निर्वाचनमा जित निकाल्ने गरी पार्टी बनाउन आफू पार्टीको प्रदेश नेतृत्व गर्न चाहेको रिजालले बताए । प्रदेशको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू बुटवल आउने निश्चित भइसकेको छ ।

लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेशका १०९ वटा स्थानीय तहबाट प्रति १०० पार्टी सदस्यबाट एक जना प्रतिनिधि आउने व्यवस्था गरेको छ । दलितको हकमा भने विधानले ७५ जना पार्टीका सदस्य बराबर एक जना प्रतिनिधि तोकेको छ । प्रतिनिधि छनोटको काम भदौ ९ गते एकै दिनमा सम्पन्न हुने एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

१२ जिल्ला रहेको यो प्रदेशमा भूगोल तथा जिल्ला समेटेर नेतृत्व छनौट गर्न नेतृत्वलाई चुनौती छ । अहिले प्रदेश कमिटीमा ६०० भन्दा बढी सदस्य रहेकाले पनि अबको कमिटी २५० मा झार्नुपर्ने अवस्था पार्टीलाई छ । त्यसका लागि झन् नेतृत्वलाई सकस रहेको एमालेका नेताहरू बताउँछन् ।

प्रकाशित : ९ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६