प्रदेश

कपिलवस्तुमा प्रहरी नै चढ्छन् अवैध रुपमा चोरीका मोटरसाइकल



कपिलवस्तु, २३ भदौ । नेपाल प्रहरीकै कर्मचारीहरू अवैध रुपमा चोरीको मोटरसाइकल चढ्ने गरेको पाइएको छ। अस्थायी प्रहरी पोष्ट जहदीका प्रहरी कर्मचारीहरूले चोरीको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा अवैध रुपमा नेपाली नम्बर प्लेट ठोकेर चलाइरहेको भेटिएको हो।

प्रहरीले चढ्दै आएको लु १८ प ६४३ नम्बर प्लेटको सेतो अपाची मोटर साइकल भारतीय चोरीको मोटरसाइकल हो। कपिलवस्तु नगरपालिका ६ जहदीमा प्रहरी चेकिङमा सो मोटर साइकल पक्राउ परेको थियो।

लामो समयसम्म सो मोटरसाइकल लैजान कागज पत्र लिएर कोही सम्पर्क गर्न नआएपछि प्रहरीले सो मोटरसाइकलमा नेपाली नम्बर प्लेट लगाएर चलाउने गरेको छ।

प्रहरीले प्रयोग गर्दै आएको सेतो रंगको सो मोटरसाइकलमा प्रयोग गरिएको लु १८ प ६४३ नम्बरमा ९७ सिसिको हिरो कम्पनीको स्पेल्डर प्रो मोटरसाइकल दर्ता रहेको यातायात व्यवस्था कार्यालय बुटवलमा रेकर्ड भेटिएको छ। यातायात कार्यालयको रेकर्ड अनुसार लु १८ प ६४३ नम्बरको मोटरसाइकल धनी साविक पटना गाविस वडा नम्बर ७ का भोरवली थारु हुन्।

तर अवैध रुपमा जहदी प्रहरीले नक्कली नम्बर प्लेट राखेर चोरीको भारतीय नम्बर प्लेटको मोटरसाइकल चलाउँदै आएको छ। कुनै पनि प्रहरी कर्मचारीलाई अवैध ढंगले सरकारी काममा वा व्यक्तिगत कामा चोरीका सवारी साधनहरू चलाउने अधिकार नरहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी उमेश राज जोशीले बताए।

‘चोरीका सवारी साधन चलाउने प्रहरी कर्मचारीलाई प्रमाणित भए कारवाही हुन्छ,’ उनले भने। आम सर्वसाधारणहरूलाई लाइसेन्स र ब्लु बुक घरमा छुटेको अवस्थामा पनि जरिवाना काट्ने दुःख दिने गरेको प्रहरीले भने आफैं चोरीको मोटरसाइकल खुलेयाम चढ्ने गरेका छन्। यसरी प्रहरीले नै चोरीको मोटर साइकल चढ्ने तर सर्वसाधारणलाई दुःख दिने घटना प्रति जिल्लाका नागरिक अगुवाहरूले विरोध गरेका छन्।

प्रकाशित : २३ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६