प्रदेश

लुम्बिनी विकास कोषले स्वीकृतिबिना कुदान क्षेत्रमा गेट निर्माण गर्दै



कपिलवस्तु, ०८ असोज । पुरातात्विक महत्त्व बोकेको कुदान क्षेत्रमा लुम्बिनी विकास कोषको तर्फबाट नियमविपरीत स्वागत गेट निर्माण गर्न लागिएको छ।

कुदान क्षेत्रमा हाल भएको गेट नजिकै भित्रपट्टी आरसीसी संरचनामा नयाँ गेट निर्माण गरिँदै छ। भक्तपुरको तुलसी कन्स्ट्रक्सन एण्ड कम्पनीले सो गेट निर्माण कार्य गरिरहेको लुम्बिनी विकास कोषले जनाएको छ।

कुदान परिसरमा काठे फुटपाथ निर्माण कार्य सँगैको प्याकेज ठेक्कामै सो आरसीसी संरचनाको गेट निर्माण कार्य अघि बढेको छ। प्राचीन स्मारक संरक्षण ऐन २०१३ का अनुसार पुरातात्विक सम्पदा क्षेत्रमा कुनै प्रकारका खन्ने तथा निर्माण गर्ने कार्य गर्न अनिवार्य रूपमा पुरातत्व विभागसँग अनुमति लिनु पर्ने प्रावधान छ।

कोषले पनि सो गेट निर्माणका लागि विभागमा स्वीकृति माग गरेको थियो। तर विभागले कुदान क्षेत्र पुरातात्विक सम्पदा क्षेत्र भएका कारण त्यहाँ पक्की आरसीसी गेट निर्माण गर्न भने स्वकृति दिएको छैन।

पुरातात्विक क्षेत्रमा कुनै पनि प्रकारका निर्माण गर्नुपूर्व विभागको स्वीकृति लिनु आवश्यक रहेको पुरातत्व विभागका प्रवक्ता पुरातत्वविद् रामबहादुर कुंवरले बताए। लुम्बिनी विकास कोषबाट गेट निर्माणका लागि स्वीकृति माग गरिएको तर नियम अनुसार नमिल्ने भएपछि स्वीकृति प्रदान गरिएको छैन, प्रवक्ता थापाले भने, ‘यसरी हुँदै गरेको निर्माण कार्य नियम विपरीत छ।’

पुरातत्व विभागको स्वीकृति नपाई कोषले मनपरी ढंगबाट पक्की संरचनाका निर्माण कार्य गरेको प्रति स्थानीय सास्कृतिक अगुवाहरूले पनि विरोध जनाएका छन्। प्राचीन तथा पुरातात्विक महत्व बोकेका स्थल वरपर नियमविपरीत जथाभावी गरिने निर्माण कार्यलाई तत्काल रोक्नुपर्ने स्थानीय अगुवा पशुपति मणि त्रिपाठीले बताए।

शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक यसै कुदान क्षेत्रमा आफ्ना माता(पिता, पत्नी, छोरा तथा परिवारका अन्य सदस्यहरूलाई भेट गरेका थिए। बुद्धलाई ध्यान गर्न, बस्नका लागि उनका पिता राजा शुद्धोधनले कुदान क्षेत्रमा बिहार निर्माण गरेका थिए।

कुदानलाई राजा शुद्धोधनको न्यायालयका रूपमा समेत हेरिने गरेको बौद्ध धर्म ग्रन्थहरूमा समेत उल्लेख गरिएको छ। हाल विभिन्न देशका बौद्धमार्गीहरू कुदान क्षेत्रमा आई ध्यान तथा प्रार्थना गर्ने गरेका छन्। उनीहरूका लागि यो अति पवित्र शान्ति स्थल हो।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६