सल्यान,१५ असोज । सल्यानमा बाघले आक्रमण गरेर चार जनालाई घाइते बनाएको छ । सोमबार विहान ९ बजेतिर जिल्लाको छत्रेश्वरी गाउँपालि ३ स्थित दोली भन्ने स्थानमा एक व्यक्तिलाई आक्रमण गरि गाउँ छिरेको बाघले अन्य ३ जनालाई पनि घाइते बनाएको सल्यान प्रहरीले जनाएको छ ।
स्थानीय पूर्णराज विकले सञ्चालन गरेको कुखुरा फार्ममा कुखुरा मारेर खोरमा लुकिरहेको बाघले छत्रेश्वरी ३ का ४० वर्षिय राज केसीलाई आक्रमण गरी घाइते बनाएको हो । फार्म बाहिर ३ वटा कुखुराको चल्ला मरेको देखेपछि कुखुराको खोरको ढोका खोलेर हेर्ने क्रममा लुकेर बसेको बाघले केसीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उक्त बाघले विहान १०ः४५ बजेको समयमा गाँउमा पसी बाटोमा हिंडिरहेका सोही ठाउँ निवासी ४० वर्षिय टेक बहादुर थापालाई, दिउँसो १२ बजेको समयमा बाटोमा हिंडिरहेका छत्रेश्वरी ३ का वर्ष १६ का छबिलाल केसी र वर्ष २७ का भिमसेन थापालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।
घाइतेहरु सबैलाई जिल्ला अस्पताल सल्यानमा ल्याएर उपचार भइरहेको छ । उनीहरुको हात, खुट्टा र अनुहारमा बाघले कोपरेको छ । अवस्था समान्य रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विवरण दिने समयसम्म बाघ धान बारीमा रहेको थियो । र बाघ ब्यबस्थापनको लागि सब डिभिजन बन कार्यालय लुहाम सल्यानको टोली पुगेको र बाँके राष्ट्रिय निकुञ्जको टोली आउदै गरेको बताइएको छ ।
प्रतिक्रिया