देश

नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता, छिट्टै दूतावासको स्थापना गर्ने



काठमाण्डौ, १९ असोज । नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता भएको छ । आज शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र मकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर भएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

श्रम सम्झौता हस्ताक्षर समारोहमा श्रम मन्त्री भण्डारीले नेपाली श्रमिकसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझदारीका आवश्यकता र प्रभावका बारेमा आफ्नो धारण राख्नुभयो भने रोमानियाले नेपाली श्रमिकको हक, हित र सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उलेख्य सङ्ख्यामा नेपाली श्रमिकको माग रहेको र पारदर्शी रूपमा कामदारको छनौट तथा छोटो अवधिमा कामदार ल्याने प्रक्रियामा समन्वय र सहकार्य गर्ने बताएको छ ।

युरोपेली देश रोमानियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको झण्डै ५५ वर्ष भइसकेको छ । नेपाली श्रमिकहरूका लागि रोमानिया आकर्षित र सुरक्षित श्रम गन्तव्यको रूपमा रहेको छ ।

रोमानियाले छिट्टै नेपालमा दूतावास स्थापना गरी रोजगारीको प्रक्रियालाई सहजीकरण गर्ने बताएको छ भने नेपालले पनि रोमानियमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरिसकेको छ ।

रोमानियामा सिपयुक्त श्रम बजारको पहिचान गर्नुका साथै महिला श्रमिकहरूलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने चाहाना रोमानियाले राखेको छ ।

दोहोरो करार, आधारभूत अङ्ग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सिप जस्ता विषयहरूमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय रोमानियामा ठुलो सङ्ख्यामा आप्रवासी श्रमिकहरूको माग रहेको, नेपाली कामदारहरूको कार्य स्वभाव, इमान्दारिता, लगनशीलताले रोजगारदाताको विश्वास आर्जन गर्न सकेकोले नेपालबाट कामदार छोटो समयमा मर्यादित भर्ना प्रक्रियामार्फत समेत छलफल भएको छ ।

श्रमिकको सामाजिक सुरक्षाको हकमा रोमानियमा कार्यरत रहेका कुनै पनि आप्रवासी श्रमिकहरुले रोमानियाका नागरिक सरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी गराउँदै दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम सम्झौता प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्षले प्रतिबद्धता गरेको छ ।

रोमानियासँग श्रम सम्झौता गर्न नेपालकोतर्फबाट श्रममन्त्री भण्डारीसहित मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल लगायतको सहभागिता रहेको छ ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६