देश

गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्षको कैद फैसला उच्च अदालतद्वारा सदर



बाग्लुङ, २२ असोज । लागुऔषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बाग्लुङ इजलासले जिल्ला अदालत बाग्लुङको फैसलालाई नै सदर गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बाग्लुङको तीन वर्ष छ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिनुभयो ।

जिल्ला अदालत बाग्लुङले २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो । त्यो फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ गते उच्च अदालत पोखरा, बाग्लुङ इजलासमा पुनरावेदन दिएका थिए ।

अहिले गाउँपालिका अध्यक्ष रहेका घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । घर्तीलाई जिल्ला अदालत बाग्लुङले कैद फैसला गर्दा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका थिए ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका तत्कालीन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई निवासबाटै पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा आपूर्तिकर्ताको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६