देश

भेडाच्याङ्ग्रा बेच्न १७ दिन हिँडेर बेनी आए जुम्लाका किसान



म्याग्दी, २३ असोज । कर्णाली प्रदेशको जुम्लाका किसान भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् ।

जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० वटा भेडाच्याङ्ग्रा हिँडाएर १७ औँ दिनमा आज सोमवार म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ’, बोहराले भन्नुभयो, ‘यहाँ ल्याई पुर्‍याउँदा एउटा रोज्जा च्याङ्ग्राको मूल्य ५० देखि ५५ हजार रुपैयाँ परेको छ ।’

उनीहरू जुम्लादेखि डोल्पा, रुकुम पश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्याङ्ग्रा बेच्न बेनी आएका हुन् । मुस्ताङी भेडाच्याङ्ग्राले बजार लिन थालेपछि झन्डै १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा ल्याइएका थिएनन् ।

स्थानीयका अनुसार झन्डै १५ वर्षपछि जुम्लाका किसान ९तराल० भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी आएका हुन् । भेडाच्याङ्ग्रा बिक्री गर्न आउने व्यापारी र किसानलाई म्याग्दीमा तराल भन्ने चलन छ । तीर्थराजसहित चार जना मिलेर भेडाच्याङ्ग्रा बिक्री गर्न आउनुभएको हो ।

अहिलेसम्म १५ वटा मात्र भेडाच्याङ्ग्रा बिक्री भएको श्यामराज बोहराले बताउनुभयो । ‘सबैले महँगो भयो भन्छन्’, उहाँले भन्नुभयो, ‘पोखरासम्म पुर्‍याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ ।’ दशैँ पर्वलाई लक्षित गरेर यसपालि म्याग्दीमा मुस्ताङभन्दा पहिले जुम्लाबाट च्याङ्ग्रा आइपुगेका हुन् ।

म्याग्दी, कास्की, पर्वत, बाग्लुङ, काठमाण्डौ लगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरू मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । मुस्ताङका किसानका गोठबाट सङ्कलन गरेर जोमसोम ल्याइएका च्याङ्ग्रा व्यापारीले खरिद गरेर निकासी गर्दछन् ।

च्याङ्ग्राको हुल भित्रिएसँगै दशैँ आगमनको महसुस गराउँछ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विशेषगरी लेकाली जडीबुटी खाने भएकाले दशैँ तिहारजस्ता पर्वमा पोषिलो मासुका रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ ।

स्वादिलो र पोषिलो हुने भएकाले दशैँमा हिमाली भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका देवेन्द्र घिमिरेले बताउनुभयो । तीन वर्षअघि प्रतिवटा २५ हजार रुपैयाँमा पाइने च्याङ्ग्राको मूल्य अहिले दोब्बरले बढेकाले सामान्य वर्गका उपभोक्ताले स्थानीय खसीबोका प्रयोग गर्न थालेका छन् । रासस

प्रकाशित : २३ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६