प्रदेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो साधारण सभा सम्पन्न



कपिलवस्तु, २६ असोज ।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले पर्यटनको क्षेत्रमा कपिलवस्तु अथाह सम्भावना बोकेको जिल्ला भए पनि प्रचारप्रसारकै अभावले पर्यटन क्षेत्रको विकास हुन नसकेको बताएका छन् । उनले राज्यले प्राथमिकता दिए कपिलवस्तुमा हजारौं विदशी पर्यटक भित्राउन सकिने बताए । शुक्रबार होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो साधारण तथा दशैं, तिहार एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आउने पर्यटकलाई उचित खान र बस्ने सुविधा दिनसके होटल व्यवसायीहरुको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बताए । उनले बाणगंगामा पुर्वाधार युक्त सुविधा सम्पन्न होटलहरुको अभाव रहेको बताए । जसले गर्दा कतिपय कार्यक्रमहरु चन्द्रौटामा गएर गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । हालसम्म बाणगंगा नगरपालिकाले रोजगारी सिर्जना गर्न करोडौं रकम खर्चिएको तर अपेक्षा अनुसार रोजगारी सिर्जना गर्न नसकेको उनले बताए उनले अहिले युवावर्गको आकर्षण होटल व्यवसायप्रति भएको बताए ।

मेयर अर्यालले युवाहरुलाई रोजगारीको सिर्जना गर्न नगरपालिका सदैव तयार रहेको बताउँदै भने, ’होटल तथा पर्यटन व्यवसायी संघसंग सहकार्य गरेर अघि बढ्न नगरपालिका तयार छ।’बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले व्यवसायीका उत्पादन गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिए । उनले व्यवसायमा प्रतिस्पर्धा मात्र भएर नहुने ब्राण्ड कायम गर्नुपर्ने बताए ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले संघ स्थापनाको छोटो समयमै उदाहरणीय काम गरेको दाबी गरे । उनले विभिन्न निकायसंगको समन्वयमा संचालित तालिममार्फ युवाहरुलाई रोजगारीमा जोडेको बताए । होटल तथा पर्यटन व्यवसायीको हकहितमा संघले वकालत गर्दै आएको बताउँदै उनले सरोकारवालाहरुसंगको सहकार्यमा कपिलवस्तुका विभिन्न पर्यटकिय स्थलको प्रचारप्रसारलाई समेत तीब्रता दिएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक पछाई, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, निवर्तमान अध्यक्ष उमानाथ पौडेल, घरेलु महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लक्ष्मण बेल्वासे लगायतले कोभिड महामारीको प्रभाव अझैसम्म पनि रहेको बताउँदै त्यसले प्रत्यक्ष रुपमा व्यवसायीहरु मार परेको बताएका थिए । उनीहरुले राज्यले व्यवसायीको योगादनलाई बेवास्ता गरेको गुनासो गरेका थिए । कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा सम्पन्न उक्त कार्यक्रमको संचालन संघका सचिव रोमलाल पौडेलले गरेका थिए ।

यसैबीच सोही कार्यक्रममा युनाईटेड हस्पिटल र संघबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । जसमा संघका सदस्यहरुको स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने उल्लेख छ ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६