देश

गोरखाबाट काठमाण्डौमा फूलपाती पठाइयो



गोरखा, ०४ कात्तिक । गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती पठाइएको छ । गोरखामा विधिपूर्वक गएराति सङ्कलन गरिएको फूलपाती बिहान सरकारी नम्बर प्लेटको गाडीमा राखेर काठमाण्डौ पठाइएको हो ।

पुरातत्व विभागले काठमाण्डौबाट पठाएको ग २ झ २१२८ नम्बरको गाडीमा फूलपाती पठाएको गोरखकाली मन्दिर व्यवस्थापन समितिले जनाएको छ । गोरखकाली मन्दिरका पुजारी कुलबहादुर थापाको साथमा फूलपातीको पठाइएको हो । फूलपाती पठाउने क्रममा बाजागाजासहित हर्षोल्लास मनाइएको थियो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोरखाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो । उहाँले १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त गर्नु भएको थियो । त्यतिबेला गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो । राणाकाल शुरुभएसँगै यो परम्परा अवरुद्ध भएको थियो ।

जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको गोरखा सङ्ग्रहालयले जनाएको छ । काठमाण्डौ र गोरखालाई पृथ्वीराजमार्गले जोडेपछि भने गाडीमार्फत् फूलपाती काठमाण्डौ पठाउने चलन फेरि शुरु भएको हो ।

गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाण्डौबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ ।

प्रकाशित : ४ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६